विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ ।
यस विषयमा मेयर साम्पाङको आफ्नो अडानका कारण वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु रुष्ट बन्दै आएका छन् । मेयर साम्पाङले माफी माग्नुपर्ने कुनै आधार नै नभएको बताउँदै आउँदा कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले भने माफी माग्नैपर्ने अडान अगाडि सार्दै आएका छन् । यसैबीच बिहीबारको कार्यपालिका बैठक पनि यसै विषयमा बस्न सकेन । बिहान ८ बजे बोलाइएको बैठकमा कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु उपस्थित नभएपछि बैठक नै नबसी स्थगित भएको थियो । बिहीबारको बैठकमा ४ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो ।
बैठकमा वडा नं १७ का वडाअध्यक्ष तथा कार्यपालिका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराई सहभागी थिए भने कार्यपालिका सदस्य दिनेश गजमेर र वडा नं १४ बाट प्रतिनिधि भएर आएकी झरना पौडेल सुनुवार उपस्थिति भएर बाहिरिएका थिए । कार्यपालिका बैठक शुरु नै हुन नपाइकन धरान १७ का वडाध्यक्ष एवम् कार्यपालिका प्रवक्ता भट्टराईले कुरा राख्दै समस्याको सम्पूर्ण जड मेयर भएको बताएका थिए । उनले कार्यपालिका सदस्यमाथि भएको शब्द प्रहार उनीमाथि भएको अमानवीय व्यवहारप्रति खेद प्रकट गर्दैै मेयर साम्पाङले माफी नमागुन्जेल बैठकमा सहभागी नहुने बताएका थिए । उनले भने–‘जनताको म्यानेड प्राप्त गरेर आएका कसैलाई मन लाग्दा बोलाएर राख्न पाउने, कसैलाई मन नपरे बोलाएर राख्न नपाइने यो अधिकार कसैलाई छैन । स्थानीय सरकार सञ्चालन ऐनको मर्म, भावना र त्यसको परिधिभित्र रहेर निर्वाचनबाट निर्वाचित भएर आएका हौंं । होला पद सानो होला जनताले दिएको म्यानेट अनुसार उसको भूमिका फरक हुन सक्छ । यो कार्यपालिकामा आएका सबै कार्यपालिकाको सदस्यको भूमिका, दायित्व र कर्तव्य सबैको हुन्छ । त्यो प्रहारलाई हामीले सिङ्गो कार्यपालिका सदस्यमाथि भएको प्रहारको रुपमा लिएका छौं ।’ उनले मान्छेबाट नै गल्ति हुने बताउँदै गल्ति स्विकार्ने बानी बसाल्नुपर्ने बताए । उनले भने–‘मेयर सावले आफू सर्वज्ञान, सर्वश्रेष्ठ, हरेक कुराहरु निपुण, म भन्ने भावना राखेर माफी माग्नु भएन, सानो समस्याले ठूलो रुप लिएको छ, यसको समाधान भनेकै मेयरले क्षमायाचना गर्नुपर्छ ।’ पटक पटक कार्यपालिका बैठक अवरुद्ध हुनुको प्रमुख कारण बुझाउन जनतामाझ जाने उनले स्पष्ट पारे । उनले मेयर साम्पाङले गल्ति गरेकोे हेक्कासम्म नराख्ने, नगरका विकास निर्माणलाई बन्दी बनाउने, निकास निकाल्न कुनै पहल नगर्ने, नगरप्रमुखको भूमिकाको हिसाबले पहल कदमी गर्नुपर्नेमा पहल कदमी नगर्ने, उल्टै तोक आदेशबाट चलाउँछु भन्ने हिसाबले आउनु भनेको श्री ३ को शैली भएको बताए । उनले भने–‘हामीले मेयर सापलाई प्रेस विज्ञप्तीमार्फत जानकारी गराइसकेका छौं प्रेस विज्ञप्तीमा उल्लेख भएका कुराहरुलाई समाधान नगरेसम्म कार्यपालिका बैठकमा हामी बस्दैनौं ।’
सो अवसरमा उपमेयर अइन्द्रबिक्रम बेघाले मेयर र वडाअध्यक्षहरुले जनताको अपेक्षालाई बुझेर काम गर्नुपर्ने सम्झाएका थिए । उनले भने–‘मेरो गोरुको बाह्रै टक्का भनेजसरि अडानमा रहिरहँदा धरान अनिर्णयको बन्दी हुने र जनताको मुद्दाहरु ओझेल पर्ने भएकोले दुवैपक्षले पुनर्विचार गर्नुपर्छ ।’
प्राङ्गणमै पत्रकार सम्मेलन
मेयरकै जिद्दिपनका कारण अनिर्णयको बन्दी बनाएको भन्दै कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले उपमहानगरपालिकाकै प्राङ्गणमा पत्रकार सम्मेलन गरी कार्यपालिका बैठक बस्न नसक्नुको कारणबारे प्रष्ट्याएको छ । पत्रकार सम्मेलनमा धरान १७ का वडाध्यक्ष एवम् कार्यपालिका सदस्य सूर्यबहादु भट्टराई (मनोज) ले जनताको मेन्डेट लिएर आएका जनप्रतिनिधि तथा कार्यपालिकाका सदस्यलाई दुव्यर्वहार गर्ने गरेको आरोप लगाएका छन् ।
कार्यपालिकाको निर्णय विना नै जथाभावि गर्ने लगायतका काम गर्दै आएकोप्रति बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको बताएका कछन् । उनले भदौ १३ गते बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकको प्रस्ताव उपचर आफ्नो मत राख्ने सन्दर्भमा बैठककै अध्यक्षता गर्नुभएका मेयर साम्पाङले बोल्न रोक्न लगाउदै ‘बाहिर निस्केर जानुस्’ गरेको शब्दप्रति आफूहरुको आपत्ति भएको बताएका छन् ।
उनले यस विषयमा मेयर साम्पाङले माफी नमागेकै कारण दुई पटकसम्म कार्यपालिका बैठक स्थगित गर्नुपरेको बताएका छन् । उनले पछिल्लो समय मेयर साम्पाङले प्रदर्शन गर्दै जानु भएको व्यवहारले आफूहरुको मानमर्दन गरेको महुसु भएको बताएका छन् । उनले भने–‘विगतमा एउटा मात्र समस्या थियो, मेयरको अडानका कारण अरु समस्या थपिएको छ, अब हाम्रो आन्दोलन कार्यपालिका सदस्यमाथिको दुव्र्यवहारमात्र नभएर उहाँले विकास निर्माणमा लगाएको उपभोक्ता समिति गठन रोक, बिना निर्णय साबुन उद्योग निर्माणको कार्य, बीपी पार्कको नाम परिवर्तन गरि बिना निर्णय आफनो फोटो राखी श्रम संस्कृति पार्क नामाकरण, सामाजिक सञ्जालमा तुत्छ शब्दहरु प्रयोग गरि गालीगलौज गरेको विषय, जातीय सद्भाव खलबलिने गरी ‘चमारे’ शब्द प्रयोग गरि दलित समुदायको आत्मासम्मानमा पु¥याएको चोटप्रति उहाँले कार्यपालिका बैठकमा प्रष्ट्याउनुपर्छ, हैन भने कार्यपालिका बैठक सञ्चालन हुँदैन ।’
‘चमारे’ शब्दप्रति आपत्ति
पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर साम्पाङले सामाजिक सञ्जालमा प्रयोग गरेको ‘चमारे’ शब्दप्रति कार्यपालिकाका दलित सदस्यहरुले ध्यानाकर्षण भएको बताउँदै दलित कार्यपालिका सदस्य सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । दलित जातिमाथि आँच पु¥याउने शब्द प्रयोगप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले विज्ञप्तीमा भनेका छन्–‘ प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा सम्मान हुने सिद्धान्तलाई आत्सात गर्दै प्रथा, परम्परा, धर्म, सँस्कृति, रितिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेशाको आधारमा छुवाछुत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको स्वतन्त्रता, समानता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछुत, बहिष्कारप्रति प्रतिबन्ध, निस्कासन, अपहेलना, वा त्यस्ता मानवता विरोधी भेदभाव जन्य कार्य दण्डहीन हुने नेपालको संविधान २०७२ को मौलिक हकमा उल्लेख गरिएको छ ।’
धरानका मेयर हर्कराज राईले मंगलबार आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन होइन, बुद्धि लगा चमारे बुद्धि ’ भन्ने अभिव्यक्तिले दलित समुदायमाथि नै चोट पुग्न गएको जनाएका छन् । दलित समुदायको मौलिक हक र अधिकारलाई नै कुण्ठित पार्दै दुव्र्यवहार भएको ठहर उनीहरुले गरेका छन् । नेपाल जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को धारा ४ को उपधार १२ मा कसैले श्रव्यदृश्य सामग्री, लेख, रचना, चित्र आकार, कार्टुन, पोष्टर पुस्तक वा साहित्यको प्रकाशन, प्रसारण वा प्रदर्शन गरेर वा कुनै अन्य तरिकाले कुनै जातजातिको मानमर्दन गर्ने काम गरेको खण्डमा कानुनी रुपमा दण्डनीय हुनुपर्छ भन्ने उल्लेख भएको भएपनि मेयर साम्पाङले कानुनको मर्यादा नराखी आफ्नो फेसबुक पेजमा पोस्ट्याएको शब्दले दलितमाथि अपहेलित भएको महसुस उनीहरुले गरेका छन् । उनीहरुले मेयर साम्पाङले दलितमाथि गरेको दुव्र्यवहारप्रति प्रचलित कानून बमोजिम कारबाही भोग्नुपर्ने बताएका छन् ।