मोरङ \ मोरङको एक विद्यालयमा शिक्षक नियुक्तिमा चलखल भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विराटनगर १८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गर्दा चलखेल भएको भन्दै विद्यार्थीहरुले पुन ः परीक्षाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
गत मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको विद्यार्थीहरुको भनाई छ । परीक्षामा ७ जना सामल भएका थिए भने १२ जनाले परीक्षा दिन पाएका थिएनन् । उनीहरुले आधारभूत विद्यालयले परीक्षा लिदाँ निष्पक्ष ढंगले नदिएको भन्दै आरोप लगाउदै आएका छन् ।
सो विद्यालयमा १ सय ४४ विद्यार्थी अध्ययरत रहेका छन् । विद्यालयमा २ जना करार र १ जना राहत शिक्षकको दरबन्दी २ वर्षदेखि रिक्त रहेको थियो । रिक्त रहेको शिक्षकको पदपूर्तिको लागि विद्यालयले शिक्षक आवश्यकताको सूचना जारी गरेको थियो ।
रिक्त रहेको शिक्षकका लागि २२ जनाले आवेदन दिएका थिए । यसमध्ये १० जना परीक्षामा सामेल भएका र १२ जना परीक्षामै सामेल भएका थिएनन् । परीक्षामा सामेल नहुनेहरुले आफूहरुलाई परीक्षाको मिति नै जानकारी नभएको बताएका छन् । उनीहरुले वडाध्यक्षको संयोजत्वमा परीक्षा भएको भन्दै प्रक्रियागत रुपमा नभएको नभएको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रकाश ऋषिदेव उपस्थित नभएपछि विराटनगर–१८ का वडाध्यक्ष जितेन्द्रकुमार शाहको संयोजत्वमा परीक्षा भएको व्यवस्थापकले जनाएको छ ।
परीक्षाबाट उत्कृष्टको आधारमा एलिना सिंह, सरस्वती राजवंशी र कल्याणी मण्डललाई नियुक्त गरेको छ । नियुक्त भएकाहरुमध्ये सिंह राहतका शिक्षक हुन् भने राजवंशी र मण्डल करारका रहेका छन् । विराटनगर महानगरपालिकाले उनीहरुलाई आइतबार नियुक्ति गरेपछि विरोध शुरु भएको हो ।
धाँधलीको आरोप लागिरहेको विषयमा विराटनगर महानगरपालिकालले भने धाँधली नभएको स्पष्टीकरण दिएको छ । विद्यालयका प्रद्यानाध्यापक राजीवकुमार यादवले विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाबाट विज्ञ टोली ल्याएर परीक्षा गराएको बताएका छन् । उनले भने–‘विराटनगरको शिक्षा महाशाखाबाट विज्ञ टोली आएर परीक्षा गरिएको हो, परीक्षामा उत्कृष्ट ल्याउनेलार्ई नियुक्ति दिएको हो ।’
विराटनगर–१८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले आफू विद्यालयको पदेन सदस्य भएको हैसियतले संयोजक रहेर शिक्षक पदपूर्तिको लागि परीक्षा गराएको बताएका छन् । यता विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले परीक्षा नियमसंगत गराएको र परीक्षामा उत्कृष्ट ल्याउनेलाई नियुक्ति गरिएको बताएका छन् । उनले भने–‘ परीक्षाको लागि विज्ञको टोली माग गरेपछि परीक्षा भएको र उत्कृष्ट नतिजा ल्याउनेलाई छनोट गरिएको हो ।’