मोरङ / प्रदेश १ प्रदेश सरकारले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद्को सोमबार बसेको बैठकको निर्णयले ग्रामणि सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी तेरिज पनि प्रदेश सरकारले स्वीकृत गरेको छ ।
विराटनगरस्थित मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले प्रादेशिक आयुर्वेद अस्पतालको विषयमा निर्णय गरेको हो ।
सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रालय समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।यस्तै बैठकले प्रदेश १ लैंगिक समानता नीति, २०७९, र प्रदेश १ सामाजिक समावेशीकरण नीति २०७९ पनि स्वीकृत गरेको छ ।
'शहीद परिवारलाईसहयोग गर्दै प्रदेश सरकार'
प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि शहीद भएका व्यक्तिका परिवारलाई सहयोग दिने भएको छ । प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रूपैयाँ दिने भएको हो ।
चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।
प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन् ।
सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ ।