इलाम / इलामको रोङ गाउँपालिका ३ चामे टारका ७० वर्षीय कमल बहादुर खवासको दैनिकी राजमार्गसँग जोडिएको छ । २०५२ सालदेखि नै राजमार्गमा साग बेच्दै आएका खवासको राज मार्ग सँगको सम्बन्ध नङ र मासुको झैँ बनेको छ ।
उनी सुत्न मात्र घर जान्छन् । दैनिक रुपमा राग मार्गमा पर्यटक र ग्राहकको पर्खाइमा बसेका खवासको उमेर ७० वर्षको भयो । उमेरले डाँडो काटे पनि उनीमा जाँगर हराएको छैन । एक मुठाको पचास पैसा हुँदा देखि राजमार्गको छेउमा बसेका कमल अहिले पनि त्यही राजमार्गमा छन । सधैँ एक घण्टाको बाटो धाएर व्यापार गर्न आउने खवास ७० वर्षको हुँदा पनि त्यो बाटो हिँड्न छोडेका छैनन् ।
रोङ गाउँपालिकाको पाथीभरा र त्यसैमा रहेको हाँस पोखरी त्यही छेउमा भेटिन्छन् कमल खवास । उमेरले ७०, सेतै फुलेको कपाल त्यसमाथि ढाका टोपी । चार ओटा बाँसका खम्बा, प्लास्टिकको छहारी । अगाडी टेबल त्यसमा फर्सीका चाना, साग, टमाटर र अदुवा ।
उनको यो जाँगर तन्देरी झैँ देखिन्छ । बिहान सबेरै झोलामा ओखती र तरकारी बोकेर एक घण्टाको पैदल हिँड्दै राजमार्ग तिर निस्कने खवास बेलुका पति त्यही बाटो त्यति नै समयमा बास बस्न घर पुग्छन् । झोलामा बोकेर लगिएको आफ्नो सामान राजमार्गमा हिँड्ने यात्रुलाई बेचेर आफ्नो दैनिकी चलाइरहेका छन ।
उनको व्यापार कुनै बजारमा होईन, राजमार्गमा यात्रा गर्ने यात्रुको प्रतीक्षामा हुने गरेको छ । व्यापार गरेर तरकारी बेचेका पनि होइनन् आफनै बारीको अर्गानिक तरकारी बेच्न राजमार्गमा आउने गरेका छन । गाउँ गाउँमा उत्पादन हुने तरकारी बजार नपुग्दा खेर गई रहेको छ तर राजमार्गमा निकाल्ने हो भने बेच्न सकिँदो रहेछ भन्ने प्रेरणाको श्रोत बनेका छन खवास । तरकारी सँगै जडीबुटी समेत बेच्ने गरेका कमल दैनिक हजार पन्ध्र सय सम्मको बिक्री हुने बताउँछन् ।
उनले तरकारी सँगै खनक्पा, सिल टिम्मुर जस्ता जडिबुटिपनि बेच्ने गरेका छन । २०११ साल मंसिरमा जन्मिएका खवासले घरमा बाख्रा पालन र तरकारी खेतीगर्ने गरेको बताउँछन् । तर काम गर्ने मान्छे नपाउँदा समस्या भएको उनको गुनासो छ । घरमा गरिएको तरकारी सधैँ सडकमा लगेर बेच्ने गर्छ ।
इलाम जिल्ला पर्यटनको हिसाबले चिनिए पनि यहाँको मुख्य पेसा कृषि नै हो । यहाँका अधिकांश मानिसको घर कृषि कर्मले चलेको छ । तर उत्पादन भएका सबै बस्तुले बजार पाउन सकेका छैनन् । सरकारले गाउँ वस्तिका उत्पादनलाई बजारसम्म ल्याउनु पर्ने खवास बताउँछन् ।
बजार नपाएपछि मेहनत गर्ने र राजमार्गमा निकाल्ने हो भने बेच्न सकिन्छ भन्ने उदाहरण खवास बनेका छन । रोङका योगेस चाम्लिङ भन्छन् कमल खवासले दैनिक गरेको मेहनत रोग गाउँपालिकाका किसानहरूमा उदाहरण बन्ने गरिएको छ । अहिलेको समयमा ७० वर्षमा यसरी काम गर्ने कमै मात्र हुने भन्दै दैनिक हिणाइले उहाँको स्वास्थ्य र आत्मबल बलियो बनेको देखिन्छ ।
यता रोङ गाउँपालिकाले पालिकाका कुना कन्दरामा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजार पु¥याउन योजना नै बनाएर लागेको जनाएको छ र गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्वो सुवासले रोङभरि उत्पादन गरेको कृषि उत्पादनलाई प्रवर्दन गर्दै पालिकाले स्टल बनाएर किसानका उत्पादनलाई सिधै उपभोक्ता सँग पुग्ने र उत्पादनको मूल्य किसानले सिधा पाउनु पर्छ भनेर योजना नै बनाएर काम गरिरहेको बताए ।
किसानको उत्पादन सिधै उपभोक्तामा पुग्ने वातावरण बनाउँदा किसान र उपभोक्ता दुवैलाई सहुलियत होस भनेर गाउँपालिकाले योजना अघि बढाएको छ स्याङ्वोले भने, ‘राजमार्गको छेउमा स्टल बनाएर किसानका उत्पादन उपभोक्ता समक्ष पु¥याउन सकिन्छ भन्ने उदाहरणको पात्र समेत कमल खवास रहेको हुँदा यसलाई छिटो भन्दा छिटो योजना कार्यान्वयनको तयारीमा रहेका छौ ।’
लामो समयदेखि राजमार्गमा बसेर तरकारी बेचिरहेका किसानलाई स्टल बनाएर व्यवस्थित गराउन सकियो भने किसान आफैले उत्पादन गरेर बेच्नकालागि प्रेरित गर्ने हो भने यहाँको उत्पादन बजारमा पुर्याईरहनु नपर्ने स्याङ्वो बताउँछन् ।
रोङ गाउँपालिका मात्र होईन इलाममा मेची राजमार्गमा तरकारी बेचेर जिविको चलाउने धेरै किसान छन । ती किसानले न त कृषिमा अनुदान पाउँछन् नत व्यावसायिक खेती गर्ने तरीका । आफ्नो करेसामा आफैले खाने गरी मेहनत गरेर उत्पादन गरेको तरकारी बँचाएर दुई चार पैसा हुन्छ कि भन्ने आसमा राजमार्गमा निकाल्ने गर्दछन् ।
स्थानीय सरकारले त्यसरी खेतीगर्ने किसानलाई बिउ विजन, तालिम दिने र उत्पादन गरेका वस्तु बेच्नका लागि बजार बनाइदिने हो बिचौलियाले खाने कमिसन किसान र उपभोक्तामा सीमित रहन्छ । सजले गर्दा किसानले उत्पादन गरेको बस्तुको मूल्य सिधै किसानको र उपभोक्ता पुग्ने गर्दछ ।