‘मिस म्याच’ व्यापारीलाई समस्या "सहजीकरणका लागि हेल्पडेस्क"

  • चैत ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / व्यवसायीले आय विवरण र राजस्व दाखिला गर्दा कारोबार अंक फरक हुने समस्या (मिसम्याच) बढेपछि आन्तरिक राजस्व कार्यालय धरानमा हेल्प डेस्क राखिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालयको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय धरानमा शुक्रबार व्यवसायी करदाता र सन्चारकर्मी माझ अभिमुखीकरण कार्यक्रम आयोजनापछि हेल्पडेस्कको समुद्घाटन गरिएको छ ।
पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने करदाताका लागि विशेष व्यवस्थाको कार्यान्वयन अभियान २०७९ सुरु गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख गोविन्द आचार्यले बताए ।

कारोबार अंक फरक (मिसम्याच) मा आर्थिक ऐन २०७९ को दफा २९ बमोजिमको सुविधाको उपयोगका लागि सम्बन्धित करदातालाई सहजीकरण गर्ने उद्देश्यले हेल्पडेस्क स्थापना गरिएको प्रमुख आचार्यले बताए ।

यो सुविधा आर्थिक वर्ष ०७७÷७८ सम्म डे ०१ र डे ०२ आय विवरण र कर दाखिला गरेका करदाताले लिन सक्ने छन् ।
आर्थिक वर्ष ०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अङ्क फरक भएमा प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको एक दशमलव पाँच प्रतिशत व्यवसायीले दाखिला गर्नुपर्ने हुन्छ ।

२०७९ जेठ १४ सम्म कर निर्धारण भइसकेकाको हकमा आयकरतर्फ संशोधित कर निर्धारण र मूल्य अभिवृद्धि करतर्फ कर निर्धारण भई बक्यौता रहेका करदाताले कर निर्धारण गर्दा कायम रहेको थप बिक्री रकमको १.५ प्रतिशत कर दाखिला गर्नुपर्ने हुन्छ ।

यो व्यवस्था आगामी चैत्र मसान्तसम्म रहने आन्तरिक राजस्व कार्यालय धरानले जनाएको छ ।

यो सुविधा नलिने करदाताहरुलाई प्रचलित कानूनअनुसार कर निर्धारण हुने र थप करको भार बढ्ने राजस्व कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
व्यवसायीहरुलाई करका कतिपय विषय ज्ञान नभएका कारण करमाथि जरिवाना तिर्नु पर्ने अवस्था आएकाले व्यवसायी आफै सचेत हुनुपर्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । उनले मिसम्याच र ननफाइलर व्यवसायीलाई लाभान्वित हुने अवसरका रुपमा सदुपयोग गर्न सुझाव दिए ।

अभिमुखीकरण कार्यक्रममा कार्यालयका कर अधिकृत गोविन्द पौडेलले सहजीकरण गरेका थिए । उनले व्यवसायीहरुले आय विवरण र कर दाखिला गर्ने विषयमा उठेका प्रश्नमा सहजीकरण गरेका थिए ।

आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार धरानमा ७ सय करदाता छन् । हाल मिसम्याचमा परेका करदाताहरुले ५ हजारदेखि २५ हजारसम्म तिर्नुपर्ने देखिन्छ ।

धरान राजस्व कार्यालयको तथ्याङ्क अनुसार कारोबार नगरेका तर राज्यलाई थाहा नभएका व्यवसायीहरु (ननफाइलर) विवरण नबुझाएका तर बर्सेनि करको भार बेहोरिरहेका मूल्य अभिवृद्धि करतर्फ ६ सय ९ जना करदाता रहेका छन् । आयकरतर्फ १६ हजार करदातामा ५० प्रतिशत ननफाइलर रहेको प्रमुख आचार्यले जानकारी दिए ।

चैत्र मसान्तसम्म आन्तरिक राजस्व कार्यालयले २२ करोड कर उठाउने लक्ष्य निर्धारण गरेको छ । जसमध्ये आयकरतर्फ १४ करोड, मूल्य अभिवृद्धि करतर्फ ४ करोड बढी र अन्तशुल्कतर्फ १ करोड ५९ लाख उठाउने लक्ष्य लिएको छ । ’मिसम्याच र ननफाइलर घटाउने अभियानले हामीलाई मद्दत गर्नेछ ।’ प्रमुख आचार्यले भने ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved