मेयर विरुद्ध कार्यपालिका सदस्य आन्दोलित : माफी माग्न २४ घण्टे अल्टिमेटम

  • चैत्र ५, २०७९
  • फणिन्द्र तिम्सिना
alt

धरान / स्वकीय सचिवको हस्ताक्षर गरी अनधिकृत व्यक्तिले वडाध्यक्षहरुलाई निर्देशनात्मक पत्र काटेको विषयमा अवरुद्ध धरान कार्यपालिकामा थप तनाव देखिएको छ ।
कार्यपालिका भाँडेको आरोप लगाउँदै धरान १० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण पत्र काटेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । असन्तुष्ट वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङले माफी माग्नु पर्ने माग राख्दै २४ घण्टे अल्टिमेटसँगै ५ बुँदे मागपत्र प्रस्तुत गरेका छन् ।

विवादित पत्र काटेको विषयमा गत १ चैत्रमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएपछि मेयर साम्पाङले ’मैले अह्राएको’ भन्दै जिम्मा लिएका थिए । मेयर साम्पाङ र वडाध्यक्षहरुबीच चर्काचर्की परेपछि मुख्य एजेण्डामा प्रवेश नगरी नै बैठक स्थगित भएको थियो ।

dd

मेयर साम्पाङले ’कार्यपालिका बैठक भाँड्ने गरी अराजक र अत्यन्तै अमर्यादित भाषा शैलीमा कराएर अनुशासनहीनता देखाउनुको कारण खुलाएर पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टीकरण लेखी पठाउनू, चित्त बुझ्दो स्पष्टीकरण नआए कार्यपालिका बैठक भाँडेको कसुरमा कानुनअनुसारको सजाय हुने’ व्यहोराको पत्र गत ३ चित्रमा धरान १० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए ।

वडाध्यक्ष राईलाई ’स्पष्टीकरणका लागि पत्र’ पठाएपछि आक्रोशित वडाध्यक्षहरुले आज आइतबार धरान उपमहानगरपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका छन् । उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २८ जनाले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको छ ।

dddd

मेयर साम्पाङले माफी नमागे चरणबद्ध आन्दोलन गर्ने र अख्तियारको दुरुपयोग गरेकाले सम्बन्धित निकायमा कानुनी कार्बाहीका लागि उजुरी गर्ने बताए ।
धरान १७ का वडाध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले मेयर साम्पाङले एकल निर्णयका भरमा नगरपालिका चलाउन खोजेको आरोप लगाए ।

‘विगतमा धरान उपमहानगरपालिका क्षेत्रमा आम सहकार्य, एकता तथा सहमतीका आधारमा सामुहिक भावना लिएर यस क्षेत्रको विकास निर्माणलगायत आमनागरिकहरुको चासो र अपेक्षाहरुको सम्बोधन गर्ने कार्य हुँदै आएकोमा हाल ठिक विपरित मनोमानी, स्वेच्छाचारी ढंगले एकल निर्यायका आधारमा अगाडी बढ्न खोजेको देखिन्छ, नगर प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत भनेका छन्,

’उनले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई खानेपानी तथा बिजुलीबाट बञ्चित हुने गरी सिफारिस रोक्ने कार्य त गरेका नै छन् संघ तथा प्रदेशमार्फत धरानको विकासको लागि योजना माग गर्न नियमानुसार उपमहानगरपालिका कार्यालयको सिफारिस माग गर्दा उल्टै सेवाग्राही धरान ११ का सन्तोष लिम्बूलाई प्रहरी लगाई कार्यालय परिसरबाट नै गिरफ्तार गराउने घटनाले धरान उपमहानगरपालिका जनप्रतिनिधिमूलक संस्था हो कि जंगबहादुरको अड्डा हो भन्ने द्विविधा सिर्जना गरेको छ ।’

उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २८ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा कुनै मुनासिवकारण विना, झुटो आरोप लगाई तथा ऐनविपरीत वडा अध्यक्षलाई मागिएको स्पष्टीकरणउपर नगर प्रमुख हर्कराज राईले आत्मालोचना गरी सार्वजनिक रुपमा माफी माग्नु पर्ने,अयोग्य स्वकीय सचिवमार्फत वडा अध्यक्षहरुलाई निर्देशनात्मक पत्राचार गर्न लगाई आफ्नो पदको दुरुपयोग गरेकोमा आत्मालोचना सहित भूल सुधार गर्नुपर्ने तथा लेटरप्याड र आफ्नो पद र अधिकारको दुरुपयोग गर्ने स्वकीय सचिव सुदर्शन लिम्बूलाई कार्बाही गर्नुपर्नेलगायतका ५ बुँदे माग गरिएको छ ।

वडाको योजना स्थगित गर्न मेयरको पत्र

कार्यपालिका बैठकमा मेयर साम्पाङका कथित ‘स्वकीय सचिव’ ले पत्र पठाएको विषयमा आक्रोशित वडाध्यक्षले कुरा उठाएको निहुँमा भड्किएका मेयर हर्क साम्पाङले वडाको योजना रोक्न समेत पत्र काटेका छन् ।

धरान १० का वडाध्यक्ष विवेक राईको नाममा पत्र गत २ चैत्रमा पत्र काट्दै मेयर साम्पाङले निर्माण कार्य स्थगित गरी सम्पर्क गर्न निर्देशन दिएका छन् । ‘धरान – १९ स्थित एलोहिन चर्च उत्तरपट्टिको धरान ९÷१० को सीमानामा पर्ने – खहरे खोलामा खोलापट्टि च्यापी रिटेनिङ वाल लगाउने काम स्थलगत अनुगमनबाट देखिएकोले उक्त काम स्थगित गरी सम्पर्क गर्न हुन जानकारी गराइन्छ ।’ व्यहोराको पत्र काटेका हुन् ।

वडाध्यक्ष राईले काम सम्पन्न भई भूक्तानीसमेत भइसकेको योजना स्थगित गर्न मेयर साम्पाङले पत्र काटेको बताए । उनले मेयर साम्पाङले १० नम्बर वडा र वडाध्यक्षलाई ‘इगो’ को रुपमा लिएर योजना कटौती गर्ने र काम गर्न नदिने गरी प्रतिशोध साँध्न पत्र काटेको बताए ।
प्रमुख प्रशासकीय अधिकृतलाई ‘मन्जुरीनामा’
धरान उपमहानगरपालिकामा भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई नियन्त्रणमा राख्ने आशयको सहमतिमा हस्ताक्षर गर्न मेयर हर्क साम्पाङले पत्र पठाएका छन् ।

नगरको लेटरप्याडमा टाइप गरी ‘मन्जुरीनामा’ जस्तो देखिने गरी प्रमुख प्रशासकीय अधिकृतलाई ७ बुदे सहमति गर्न दबाव दिएका छन् । प्राप्त पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई संघीय, प्रदेश र स्थानीय जुन सुकै सरकारको बजेटको सबै भौतिक योजना तथा सामाजिक र आर्थिक कार्यक्रमहरु र अन्य सबै प्रकारका कार्यक्रमहरु अनिवार्य रुपमा नगर प्रमुखद्वारा सदर गराए पछि मात्रै कार्यान्वयनमा लानेछु, नगरको सुशासन र विकाससग जोडिएको र सार्वजनिक विषयहरूमा कुनै पनि निर्णय गर्दा आफू खुसी निर्णय गर्ने छैन’ लगायतका बुदामा हस्ताक्षर गर्न पत्र पठाएका छन् ।

सो मन्जुरीनामामा हस्ताक्षर गर्न मेयरले दबाव दिएको नगरपालिका स्रोतको भनाइ छ । मन्जुरीनामामा नगर प्रमुखको योजनाहरु नगरका हीतका योजना हुने भएकाले ती योजनाहरुलाई सफल बनाउन प्राविधिक सहजिकरण गर्नुपर्ने, असहज र जटिल बनाउन कुनै अभिव्यक्ति या व्यवहार गर्ने छैन,

कर्मचारी नियुक्ति, सरुवा र बढुवा गर्न परे पुष्टि सहित टिप्पणी पेश गर्ने र नगर प्रमुखद्वारा सदर गराएर मात्रै अघि बढनेछु, उपप्रमुख कोषबाट प्रस्तावित योजना तथा कार्यक्रमहरु नगर प्रमुखद्वारा सदर गराएर मात्रै कार्यान्वयनमा लानेछु, सबै सह समन्वय र सहकार्य गरी सबैलाई जोड्ने भूमिका खेल्नेछु । कर्मचारीहरुलाई बिदा स्वीकृत गर्दा र आफू विदामा बस्दा अनिवार्य नगर प्रमुखलाई जानकारी गराउनेछु, कार्यकाल भरी कुनै किसिमको राजनीतिक पार्टीगत छनक जाने बोलि व्यवहार गर्ने छैन ।’ लेखिएको मन्जुरीनामामा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने मेयर साम्पाङको दवाब छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved