धरानमा आठौँ मिस्टर कोशी प्रतियोगिता हुने

  • मंसिर ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

एलाइनेट जिमको आयोजनामा हुने प्रतियोगिताबारे मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लिम्बूले जानकारी दिएका हुन्।

प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको हलमा  फागुन २९ र ३० गते सञ्चालन हुनेछ। यो एलाइनेट जिमको २४औँ प्रस्तुति तथा मिस्टर कोशीको आठौँ संस्करण हो।

प्रतियोगिताको पहिलो दिन फ्री–जजिङ र दोस्रो दिन फाइनल च्याम्पियनसिप सञ्चालन हुनेछ। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिका गरी ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। फ्री–जजिङबाट प्रत्येक तौल समूहका पाँच–पाँच जना खेलाडी छनोट भई फाइनलमा ३० जना सहभागी हुनेछन्।

फाइनलमा प्रत्येक तौल समूहका प्रथम खेलाडीले ओभरअल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ओभरअल तर्फ प्रथम हुने खेलाडीले उपाधिसहित ट्रफी र नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौँले २५ हजार र छैटौँले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ र उत्कृष्ट टिमलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष लिम्बूले जानकारी दिए।

प्रतियोगितामा शारीरिक सुगठनका लागि उर्वर मानिने सुनसरी, मोरङ र झापाका विभिन्न क्लबबाट खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। पहाडी जिल्लामा पनि क्लबहरू भए पनि फिटनेसका लागि मात्र व्यायाम गर्ने प्रवृत्ति बढेको र प्रतिस्पर्धात्मक खेलतर्फ आकर्षण घट्दै गएको अध्यक्ष लिम्बूको भनाइ छ।

‘खेलाडीको सङ्ख्या घट्दो छ। डाइटमै धेरै खर्च लाग्छ, तर पुरस्कार राशि अझै कम छ,’ उनले भने, ‘आर्थिक समस्याका कारण पुरस्कार बढाउन सकेका छैनौँ।’

प्रतियोगितामा सहभागी खेलाडीलाई दुई दिनको ६ सय रुपैयाँ भत्ता तथा बसोबासको व्यवस्था गरिने उनले बताए। एक क्लबबाट प्रत्येक तौल समूहमा बढीमा दुई खेलाडी सहभागी हुन पाउनेछन्। एक क्लबबाट अधिकतम १२ खेलाडी र एक जना टिम म्यानेजरले सहभागिता जनाउन सक्नेछन्। सहभागी खेलाडीले नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ।

प्रतियोगितासँगै राष्ट्रिय निर्णायक (जजेज) कार्यशालासमेत सञ्चालन गरिनेछ।

प्रतियोगिता आयोजना गर्नु नै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष लिम्बूले स्थानीय तथा प्रदेश सरकारले शारीरिक सुगठन खेलको विकास र प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने बताए। उनका अनुसार प्रतियोगिता आयोजना गर्न आर्थिक स्रोत जुटाउन कठिनाइ छ।

युवापुस्तालाई स्वस्थ जीवनशैली, नियमित व्यायाम र खेलकुदप्रति आकर्षित गर्दै अनुशासित तथा स्वस्थ नागरिक निर्माण गर्नु प्रतियोगिताको उद्देश्य रहेको उनले बताए। खेलकुदमार्फत युवामा बढ्दो विकृति तथा विसङ्गति न्यूनीकरण गर्नुका साथै प्रदेशका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा पहिचान गराउने लक्ष्यसमेत राखिएको छ।


नेपालमा शारीरिक सुगठन प्रतियोगिताको सुरुआत धरानबाटै भएको इतिहास रहेको उल्लेख गर्दै लिम्बूले २०२७ सालमा पहिलो पटक ‘मिस्टर धरान’ प्रतियोगिता आयोजना भएको स्मरण गराए ।

यात्रु बस चढेर आएका ...

इटहरी/ यात्रु बस चढेर आएका धरानका एक युवक लागूऔषध ...

उपचारका लागि अस्पताल ...

विराटनगर/ उपचारका लागि अस्पताल भर्ना गरिएका झापाका एक क ...

लागूऔषध ट्रामाडोलसहि ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ट्राम ...

धरानमा ब्राउन सुगरसह ...

धरान/  सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगरसहित चार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved