धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
मंसिर ७ गते बिहान करिब ७ः३० बजे धरान उपमहानगरपालिका–११ स्थित गैरीगाउँमा प्रहरी गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
रेल्वे प्रहरी चौकी र जोरखुवा प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान–११ का ३१ वर्षीय अनिल तामाङलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने ३१० मिलिग्राम लिसाइलो पदार्थ बरामद गरेको थियो।
त्यसपछि प्रहरीले उनीसँगै हिँडिरहेका धरान–११ कै २१ वर्षीय सुरज विक, १९ वर्षीय अभिषेक तामाङ र २७ वर्षीय विशाल रसाइलीलाई समेत नियन्त्रणमा लिएको हो।
चारै जनालाई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।