झापा/ झापाको दमकमा आफ्नै घर र डेराकोठाबाट लागूऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
२०८३ मंसिर ७ गते राति करिब ९ः३० बजे दमक नगरपालिका–९ प्रधान टोलस्थित युनिक श्रेष्ठको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय युनिक श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० निवासी २५ वर्षीय सहिल केसीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ४ ग्राम ५५० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ६५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको थियो ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त लागूऔषध दमक नगरपालिका–५ गुँरास टोलमा डेरा गरी बस्ने करिब ४९ वर्षीया गीता देवी रायसँग खरिद गरेको खुलेपछि प्रहरीले उनको डेरामा समेत खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा गीता देवी राय सुत्ने कोठामा पोका पारेर लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकसहित १७ ग्राम ६४० मिलिग्राम र प्लास्टिकबाहेक ७ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।