इलाममा नेपालकै पहिलो ‘मुन्धुम पाठशाला’ स्थापना हुँदै गुरु देवबहादुर तुम्बापोको जन्मजयन्तीमा शालिक अनावरणसमेत गरिने

  • मंसिर ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

धरान/ किरात धर्म, दर्शन, भाषा, सभ्यता र मौलिक संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा नेपालकै पहिलो ‘मुन्धुम पाठशाला’ स्थापना गरिने भएको छ।

किरात सत्यहाङमा धर्म संरक्षक तथा मुन्धुमविद् गुरु लाफयङ देवबहादुर तुम्बापोको ८३औँ जन्मजयन्तीको अवसर पारेर आउँदो मंसिर १० गते पाठशालाको उद्घाटन गर्न लागिएको हो।

जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दका पहिलो जीवनी लेखक, सम्पादक, संकलक तथा प्रकाशक सानो गुरु बद्रीनन्द तुम्बापोको शालिकसमेत अनावरण गरिने भएको छ।

इलामको चुलाचुली गाउँपालिका–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालामा आयोजना हुने कार्यक्रममा किराती समुदायको मौलिक भाषा, संस्कृति, संस्कार, धर्म, दर्शन र मुन्धुमको संरक्षण तथा अध्ययनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

फाल्गुनन्द नोमाङगेना सेवा संघका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार मुन्धुम पाठशाला स्थापना किरात समुदायको मौलिक ज्ञान र दर्शनलाई व्यवस्थित रूपमा अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास हो।

पाठशाला उद्घाटनसँगै सम्पूर्ण प्राणीको रक्षा र विश्वशान्तिको कामना गर्दै माङ्गेना चोत्लुङ कार्यक्रमसमेत आयोजना गरिने संस्थाका सचिव पूर्णकुमार चेम्जोङले जानकारी दिए।

कार्यक्रम कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङथेपको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका उपाध्यक्ष नाम्लिहाङ चेम्जोङका अनुसार इलाममा सञ्चालन हुन लागेको मुन्धुम पाठशालाले किरात धर्म, दर्शन र मुन्धुमको खोज, अध्ययन तथा अनुसन्धानलाई संस्थागत गर्नेछ।

विशेषगरी पूर्वी नेपालका किरात समुदायसँग जोडिएको मौलिक ज्ञान, दर्शन, संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्ने लक्ष्य राखिएको उनले बताए।

मुन्धुम केवल धार्मिक अनुष्ठानमा सीमित विषय नभई किरात समुदायको सामाजिक जीवन, प्रकृति, मानव सभ्यता, इतिहास, नैतिकता र जीवनदर्शनसँग जोडिएको मौखिक ज्ञानपरम्परा भएकाले यसको संरक्षण आवश्यक रहेको आयोजकको भनाइ छ।

पाठशालामार्फत मुन्धुमका विभिन्न पक्षमा विज्ञ, मुन्धुमविद्, अध्येता, गुरु तथा समुदायका जानकार व्यक्तिहरूबाट खोज तथा अनुसन्धान गरिनेछ।

नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति, मौलिक इतिहास र पुर्ख्यौली ज्ञानप्रति चासो बढाउने तथा लोप हुँदै गएका मौखिक परम्परालाई अभिलेखीकरण गर्ने कामलाई पाठशालाले प्राथमिकतामा राख्नेछ।

आयोजकले यसलाई नेपालकै पहिलो मुन्धुम पाठशाला हुन सक्ने दाबी गरेको छ।

यसको अवधारणा किरात धर्मावलम्बीहरूको उद्गमस्थल तथा आस्थाको केन्द्र फक्ताङलुङको तीर्थयात्राका क्रममा आएको अध्यक्ष तुम्बापोले बताए।

वैशाख २२ गते ६३ जनाको टोली पैदलयात्रा गर्दै फक्ताङलुङ पुगेको र सोही अवसरमा मुन्धुम पाठशाला स्थापनाको घोषणा गरिएको उनले जानकारी दिए।

‘फक्ताङलुङ यात्राले जुराएको सपना हो यो। त्यही यात्राका क्रममा मुन्धुम पाठशाला स्थापना गर्ने अवधारणा आएको हो,’ उनले भने।

जन्मजयन्तीको अवसरमा दुईदिने सांस्कृतिक, धार्मिक तथा शैक्षिक मिनी महोत्सवसमेत आयोजना गरिने भएको छ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

इलामको चुलाचुली–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालामा वर्षेनी गुरु तुम्बापोको जन्मजयन्ती कार्यक्रम आयोजना हुँदै आएको छ। यस अवसरमा स्थानीय सरकारले एकदिने सार्वजनिक बिदासमेत दिँदै आएको छ।

याक्थुङ भाषा, संस्कृति र शिक्षाको संरक्षणमा लामो समयदेखि क्रियाशील उक्त पाठशालामा यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन सभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङ, तत्कालीन शिक्षामन्त्री धनीराम पौडेललगायत प्रदेशका मन्त्रीहरूको सहभागिता भइसकेको छ।

धरान–८ मा प्रहरीको ...

धरान/ सुनसरीको धरान–८ वीरेन्द्रचोकमा डेराको कोठाब ...

धरानमा ४९९ किलो गाँज ...

धरान/ सुनसरीको धरानमा प्रहरीले ४९९ किलो गाँजासहित ...

धरान महिला गोल्डकपको ...

धरान/ धरानको फुटबल इतिहासमा महिला फुटबलले नयाँ इति ...

धरानमा मगर समुदायको ...

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved