धरान/ धरानको फुटबल इतिहासमा महिला फुटबलले नयाँ इतिहास रचेको छ । पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ को ऐतिहासिक उपाधि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले जितेको छ ।
डि १९ क्लबको आयोजनामा धरान रंगशालामा अस्थायी फ्लडलाइटको उज्यालोमा शनिबार राति सम्पन्न फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि फाइनल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको चौथो मिनेट अर्थात् खेलको ९४औँ मिनेटमा एपीएफकी रश्मि कुमारी घिसिङले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम क्षणमा एपीएफकी अनिता केसीले दोस्रो गोल थपिन् ।
निर्धारित समयपछि थपिएको अतिरिक्त समयको १२०औँ मिनेटपछिको इन्जुरी समयमा आएको उक्त गोलसँगै एपीएफले ऐतिहासिक उपाधि आफ्नो पोल्टामा पार्यो । उत्कृष्ट प्रतिस्पर्धा गरेको नेपाल पुलिस क्लब भने उपविजेतामा सीमित भयो ।
रात्रिकालीन फ्लडलाइटमा भएको फाइनल हेर्न दर्शकको उल्लेख्य उपस्थिति थियो । धरान रंगशालाको प्याराफिट दर्शकले भरिएको थियो ।
दुवै टोलीका समर्थकले हुटिङ गर्दै खेलाडीको हौसला बढाएका थिए । फ्लडलाइटको उज्यालो, दर्शकको उत्साह र दुई विभागीय टोलीबीचको उपाधि भिडन्तले फाइनललाई थप रोमाञ्चक बनाएको थियो ।