धरानमा मगर समुदायको सामूहिक हुर्रा नाच, मौलिक संस्कृति संरक्षण गर्न स्थानीय सरकारसँग माग

  • मंसिर ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको हुर्रा नाचको संरक्षण र प्रवर्द्धन गर्न माग गर्दै धरानमा सामूहिक हुर्रा नाच प्रदर्शन गरिएको छ।

शनिबार धरानको भानुचोकमा नेपाल मगर सङ्घ धरान उपमहानगर समितिको आयोजनामा मगर समुदायका महिला, पुरुष तथा युवा पुस्ताले सामूहिक रूपमा हुर्रा नाच प्रदर्शन गरेका हुन्। मगर समुदायको मौलिक संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हुर्रा नाचको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने मागसमेत कार्यक्रममा उठाइएको थियो।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले धरान सबै जातजाति, भाषा, धर्म र संस्कृतिको साझा अस्तित्व बोकेको सहर भएको बताए। सांस्कृतिक विविधताले धरानको छुट्टै पहिचान स्थापित गरेको उल्लेख गर्दै उनले सबै समुदायले आ–आफ्नो संस्कार र संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव र एकताका साथ अघि बढ्नुपर्ने बताए।

उनले धरानको इतिहास र अस्तित्वलाई जीवन्त राख्न सांस्कृतिक पहिचानको संरक्षण आवश्यक रहेको भन्दै समुदायको विकाससँगै संस्कृति संरक्षण र प्रवर्द्धनमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाल मगर सङ्घ धरानका अध्यक्ष चित्र थापा मगरले हुर्रा नाच मगर समुदायको मौलिक सांस्कृतिक चिनारी भएकाले यसको संरक्षणमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले हुर्रा नाचलाई मनोरञ्जनमा मात्र सीमित नराखी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गर्न पहल गर्नुपर्ने माग गरे।

उनका अनुसार मगर समुदायले हरेक वर्ष सामूहिक नाच प्रदर्शन गर्दै मौलिक परम्परालाई निरन्तरता दिँदै आएको छ। हुर्रा नाचलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु समुदायको प्रमुख जिम्मेवारी रहेको उनले बताए।

कार्यक्रममा गत जेठ २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार मगर समुदायको भूमे पर्व, नचारु शाही नाच तथा माझी समुदायको कोशी पूजा ९लदी पूजा० लगायतका सांस्कृतिक सम्पदा सूचीकरण गरिएको जानकारी दिइएको थियो। हालसम्म पाँच वटा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण भइसकेको र हुर्रा नाच पनि सूचीकरणको प्रक्रियामा रहेको जनाइएको छ।

हुर्रा नाचको मौलिकता कायम राख्दै संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नेपाल मगर सङ्घ धरानले छिट्टै एकदिने कार्यशाला आयोजना गर्ने तयारीसमेत गरेको छ। कार्यशालामा कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रतिनिधि तथा मगर र गैरमगर समुदायका लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहने बताइएको छ।

यसअघि सैनिक भवनभित्र सीमित रूपमा आयोजना हुँदै आएको सामूहिक हुर्रा नाच प्रदर्शन कार्यक्रम यसपटक फराकिलो बनाउँदै भानुचोकमा आयोजना गरिएको हो।

नेपाल मगर सङ्घ धरानका अध्यक्ष चित्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर सङ्घका केन्द्रीय प्रतिनिधि, विभिन्न जातीय सङ्गठनका पदाधिकारी, पाहुना टोली तथा स्थानीय मगर समुदायका युवाहरूको उपस्थिति रहेको थियो।

 

 बन्चरो प्रहार गरी आ ...

दैलेख/  दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन छ ...

धरानका २१ वर्षीय युव ...

सुनसरी/  सुनसरीको दुहबीबाट करिब २२ किलो गाँजासहित ...

फेसबुक आईडी ह्याक गर ...

मोरङ/  विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक ग ...

धरानको पहिलो महिला ग ...

धरान/ पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved