धरान/ पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को ऐतिहासिक पहिलो उपाधिका लागि शनिबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन्।
धरानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार साँझ ७ बजे रात्रिकालीन फ्लडलाइटमा हुनेछ। यस खेलले प्रतियोगिताको पहिलो च्याम्पियन टोलीको टुङ्गो लगाउनेछ।
फाइनल खेलअघि शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने बताएका छन्।
उनीहरूले आफ्नो तयारी, रणनीति र आत्मविश्वाससमेत प्रस्तुत गरेका छन्। प्रतियोगिताको पोल ‘ए’ विजेता एपीएफ सुन्तला रङको जर्सीमा मैदान उत्रिनेछ भने पोल ‘बी’ विजेता नेपाल पुलिस क्लब नीलो जर्सीमा प्रतिस्पर्धा गर्ने म्याच कमिश्नर इन्द्र थापा मगरले जानकारी दिए।
एपीएफका मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले आफ्नो टोली मानसिक, शारीरिक र रणनीतिक रूपमा फाइनलका लागि पूर्ण तयारी अवस्थामा रहेको बताए।
प्रतियोगिताको सुरुदेखि नै नियमित र सन्तुलित तयारी गर्दै आएको उल्लेख गर्दै उनले फाइनलसम्मको यात्राले खेलाडीहरूको आत्मविश्वास उच्च बनाएको बताए।
१३ जना राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ टोलीका लागि नियमित कप्तान अनिता बस्नेतको चोट भने फाइनलअघि चुनौती बनेको छ।
चोटका कारण अनिता निर्णायक खेलमा मैदान उत्रिन नसक्ने प्रशिक्षक पाण्डेले जानकारी दिए। यद्यपि, उनको स्थानमा खेल्न सक्ने क्षमतावान खेलाडी टोलीमा रहेको उनले बताए।
नियमित कप्तानको अनुपस्थितिमा टोलीको नेतृत्व गर्ने कार्यवाहक कप्तान रेणुका नगरकोटीले अनिताको अभाव खट्किने भए पनि उनको स्थानमा खेल्ने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।
उनले फाइनलको तयारी पूरा भइसकेको बताउँदै आफ्नो टोली उपाधि जित्नकै लागि मैदान उत्रिने स्पष्ट पारिन्।
त्यस्तै, नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक भोला सिलवालले एपीएफ र पुलिसबीचको प्रतिस्पर्धा सधैँ रोमाञ्चक हुने भएकाले फाइनल खेल दर्शकका लागि विशेष आकर्षण बन्ने बताए।
६ जना राष्ट्रिय खेलाडी रहेको पुलिस टोलीले एपीएफको बलियो डिफेन्स, मिडफिल्ड र अग्रपङ्क्तिलाई चुनौती दिन विपक्षीका कमजोरी पहिचान गरी त्यसको सदुपयोग गर्ने रणनीति बनाएको उनले जानकारी दिए।
धरानको मैदान पुलिसका लागि भाग्यमानी मानिने प्रसङ्गमा प्रशिक्षक सिलवालले राम्रो खेल प्रदर्शन गरेपछि मात्रै भाग्यले पनि साथ दिने बताए।
यद्यपि, धरानमा आफ्नो टोलीको पक्षमा भाग्य रहेको आफूलाई लागेको उनको भनाइ थियो।
पुलिसकी कप्तान अमृता जैसीले एपीएफ बलियो टोली भए पनि आफ्नो टिम सन्तुलित रहेको र उपाधिका लागि तयार रहेको बताइन्।
यसअघि सिमरामा भएको भेटमा एपीएफसँग २–१ गोलले पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले फाइनलमा नतिजा उल्ट्याउन अन्तिम समयसम्म प्रयास गर्ने बताइन्।
९० मिनेटको खेल नसकिँदासम्म नतिजा अनुमान गर्न नसकिने उनको भनाइ थियो।
यसैबीच, दुवै टोलीका प्रशिक्षकले पहिलोपटक धरानमा आयोजना भएको रात्रिकालीन महिला फुटबल प्रतियोगिताको व्यवस्थापकीय पक्षको प्रशंसा गरेका छन्।
नेपाल पुलिस क्लबका प्रशिक्षक सिलवालले पूर्वी नेपालमा महिला फुटबललाई प्रवर्द्धन गर्न आयोजक डी–१९ क्लबले गरेको प्रयास प्रशंसनीय रहेको बताए।
रात्रिकालीन फुटबलले खेलमा छुट्टै आकर्षण थपेको र महिला फुटबलले पनि राति दर्शकको राम्रो साथ पाउन सक्ने सन्देश दिएको उनले बताए।
करिब ६–७ दिन धरानमा रहँदा प्रतियोगिताको समग्र व्यवस्थापन राम्रो पाएको उल्लेख गर्दै उनले आयोजकले खेलाडी तथा टोलीले अपेक्षा गरेअनुसारको वातावरण तयार गरेको बताए।
एपीएफका प्रशिक्षक पाण्डेले पनि सीमित साधनस्रोतका बाबजुद स्थानीय युवाहरूले यति ठूलो प्रतियोगिता आयोजना गर्नु उदाहरणीय काम भएको बताए।
प्रतियोगिता सफल बनाउन स्थानीय सरकार, प्रदेश सरकार, खेलकुद विकास समिति, राजनीतिक दल, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सामूहिक सहयोग आवश्यक हुने उनको भनाइ थियो।
बाँसका पोलमा फ्लडलाइट जडान गरेर भए पनि धरानमा रात्रिकालीन फुटबल आयोजना गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रशिक्षक पाण्डेले आगामी दिनमा स्थायी फ्लडलाइटको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराए।
स्थायी फ्लडलाइट निर्माण हुन सके धरानलाई पूर्वी नेपालकै खेलकुदको आकर्षक केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए।
पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप केवल फुटबल प्रतियोगितामा सीमित नभई धरानमा महिला फुटबलको प्रवर्द्धन र रात्रिकालीन खेल संस्कृतिको विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
अब यो सुरुवातलाई निरन्तरता दिँदै स्थायी फ्लडलाइटसहित आधुनिक खेल पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ।