धरान/ झापाको शिवसताक्षीमा १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ बिशुवाडुब्बा निवासी २५ वर्षीय बनेश्वर सोरेन रहेका छन् ।
प्रहरीका अनुसार उनले कात्तिक २९ गते राति शिवसताक्षी नगरपालिका–५ जनता बजारको पूर्वतर्फ रहेको प्रभा ताजपुरियाको खेतमा लगेर स्थानीय १७ वर्षीया किशोरीलाई डरत्रास देखाई जबर्जस्ती करणी गरेको आरोप छ ।
घटनाबारे पीडित किशोरीका आफन्तले मंसिर १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी नायब निरीक्षक लालबहादुर थापाको कमान्डमा खटिएको टोलीले सोरेनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सोरेनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले घटनाको सम्बन्धमा प्रहरीमा जाहेरीसमेत दिएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।