धरान/ धार्मिक परम्पराअनुसार निकालिने निशान यात्रासहित सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र धाममा आज शुक्रबारदेखि पाँचदिने कात्तिके मेला सुरु हुँदै छ।
हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म सञ्चालन हुने मेलामा सप्तकोशी नदीमा स्नान गरी वराह भगवान्को दर्शन तथा पूजाआराधना गर्न नेपालका विभिन्न जिल्लासहित भारत र भुटानबाट समेत भक्तजन आउने गर्छन्।
मेलाको सम्पूर्ण तयारी पूरा भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए।
विसं १८२१ मा स्थापना भएको चतरा गद्दीबाट आज बाजागाजा र ढोलझ्याम्टासहित चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र मन्दिरसम्म निशान यात्रा निकालिनेछ।
औलिया बाबाको गद्दी स्थापना भएदेखि नै चतरा गद्दीबाट निशान झण्डा वराहक्षेत्र लैजाने परम्परा रहेको श्रेष्ठले बताए।
जनश्रुति र धार्मिक मान्यताअनुसार औलिया बाबालाई वराह भगवान्का उपासक, सेवक र रक्षकका रूपमा मानिने भएकाले निशान झण्डा लैजाने गरिएको उनको भनाइ छ।
आज बिहान सप्तकन्यासहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि चतरा गद्दीबाट यात्रा सुरु गरिनेछ।
यात्रामा जुना अखाडाका जोगी–संन्यासी, चतरा गद्दीका साधुसन्त, जनप्रतिनिधि र स्थानीयवासी सहभागी हुनेछन्। निशान झण्डा पूर्णिमासम्म वराहक्षेत्रमा राखी धार्मिक विधिअनुसार पुनः चतरा मठमा फर्काउने परम्परा छ।
मेलामा आउने भक्तजनका लागि सप्तकोशी नदीमा सुरक्षित स्नानको व्यवस्था मिलाइएको समितिले जनाएको छ। स्नानस्थलमा बाँसको बार, बत्ती, सरसफाइ र खानेपानीको प्रबन्ध गरिएको छ।
मेला व्यवस्थापनका लागि वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। बजार, नदी व्यवस्थापन, विद्युत्, स्वास्थ्य र सुरक्षालगायतका काम व्यवस्थित गर्न विभिन्न उपसमितिसमेत परिचालन गरिनेछ।वराहक्षेत्र हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हो।
धार्मिक मान्यताअनुसार भगवान् विष्णुले वराह अवतार धारण गरी हिरण्याक्षको वध गरेर जलमा डुबेको पृथ्वीको उद्धार गरेका थिए। यही विश्वासका आधारमा यहाँ वराह भगवान्को पूजाआराधना र सप्तकोशी नदीमा स्नान गर्ने परम्परा रहिआएको छ।