मोरङ/मोरङको रतुवामाई नगरपालिका–७ स्थित सुनसान घरमा नेपाली र भारतीय नागरिक भेला भएर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर सात जनालाई पक्राउ गरेको छ।
प्रहरीले जुवाखालबाट नेपाली र भारतीय रुपैयाँसहित चारवटा मोटरसाइकल, सातवटा मोबाइल र तीन बुङ तास बरामद गरेको छ।
स्थानीय दिनेश सुतिहारको मान्छे नबस्ने घरमा नियमित रूपमा जुवातास खेल्ने जमघट हुने गरेको गोप्य सूचना पाएपछि प्रहरीले सोमबार बिहान करिब ३ः३० बजे छापा मारेको हो।
कपर सुख्खा बोका टोलस्थित उक्त घरमा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलास लिम्बूको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–२ का ३३ वर्षीय अरुणकुमार गनगाई, ३२ वर्षीय उपेन्द्रप्रसाद गनगाई र वडा नम्बर ७ का ४६ वर्षीय कपिल साह रहेका छन्।
त्यस्तै, भारतको किशनगन्ज जिल्लाअन्तर्गत पक्खली पञ्चायत डुमरिया–४ का ३५ वर्षीय अजय सोनार, ३० वर्षीय सुरज शाह, २८ वर्षीय राजु सोनार र डुमरिया–७ का २२ वर्षीय सुरज मण्डल पक्राउ परेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले जुवाखालबाट नेपाली रुपैयाँ १५ हजार ७०० र भारतीय रुपैयाँ १९ हजार ५२० बरामद गरेको छ। दुवै देशको मुद्रा नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कुल ३५ हजार २२० रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले जुवातास खेल्न प्रयोग गरिएका चारवटा मोटरसाइकल र सातवटा मोबाइलसमेत नियन्त्रणमा लिएको छ। बरामद मोटरसाइकलमध्ये दुईवटा भारतीय नम्बर प्लेटका र दुईवटा नेपाली नम्बर प्लेटका रहेका छन्।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। उनीहरूमाथि जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसपी कटवालले जानकारी दिए।