सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको लागूऔषध प्रहरीले बरामद गरेको छ।
हरिनगर गाउँपालिका–७ खानचोकस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीहाटको संयुक्त टोलीले लागूऔषध बरामद गरेको हो।
प्रहरी टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १०५२ नम्बरको सिटी सफारी छाडेर चालकसहित त्यसमा संलग्न व्यक्तिहरू फरार भएका थिए।
त्यसपछि प्रहरीले सिटी सफारी जाँच गर्दा स्पास्पेन प्रो (Spaspain Pro) १५ हजार पिस ट्याब्लेट र ट्रामोल ५० (Tramol 50) ७ हजार ४७० पिस क्याप्सुल फेला पारेको थियो।
प्रहरीले लागूऔषधसहित सिटी सफारी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। बरामद लागूऔषधको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फरार चालक तथा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्यसमेत भइरहेको छ।