धरान/ धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता’मा घरेलु टोली स्वर्णिम फुटबल क्लबले गोलको वर्षा गर्दै शानदार जित निकालेको छ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै स्वर्णिम सेमिफाइनलमा प्रवेश गरेको हो।
धरान–१६ स्थित धरान रंगशालामा जारी रात्रिकालीन प्रतियोगितामा घरेलु टोलीले सुरुदेखि नै खेलमा दबाब कायम राखेको थियो। स्वर्णिमको जितमा सजिना साङताङले ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगरले दुई गोल गरिन्।
पहिलो हाफमै ३–० को अग्रता बनाएको स्वर्णिमले दोस्रो हाफमा थप दुई गोल गर्दै ५–० को शानदार जित सुनिश्चित गर्यो। पहिलो हाफमा समीक्षाले दुई र सजिनाले एक गोल गरेकी थिइन्। दोस्रो हाफमा सजिनाले लगातार दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन्।
ह्याट्रिकसहित तीन गोल गरेकी सजिना खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आज सोमबार हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने फाइनल खेल मंसिर ५ गते हुनेछ।