- बाबुराम कार्की
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षीया सबिना विश्वकर्मा पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । कात्तिक ९ गते बिहान अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको बैठकमा जाने भन्दै घरबाट निस्किनुभएकी उहाँ हालसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।
सबिनाकी आमा रिमा विश्वकर्माका अनुसार उहाँ कात्तिक ९ गते बिहान ११ बजे बैठकमा जाने भन्दै घरबाट निस्किनुभएको थियो । घरबाट निस्कनुअघि आफू बैठकमा जाने र ढिलो हुन सक्ने बताउनुभएको परिवारले जनाएको छ ।
तर, साँझसम्म घर नफर्किएपछि आमाले मोबाइलमा सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको थियो । त्यसपछि आफन्त तथा चिनजानका व्यक्तिसँग सोधखोज गर्दा उहाँ बैठकमा नगएको जानकारी पाएपछि परिवार चिन्तित बनेको हो ।
आमा रिमा विश्वकर्माका अनुसार पछि अर्कै व्यक्तिको मोबाइलबाट सबिनाको फोन आएको थियो । फोनमा आफूलाई लिएर घरपरिवारले चिन्ता नगर्न र घरमा खबर गरिदिन भन्नुभएको थियो । त्यसपछि परिवारले उहाँ कुनै व्यक्तिसँग गएको हुन सक्ने आशङ्का गरेको छ ।
दुवै खुट्टामा समस्या रहेकाले सबिनालाई हिँडडुल गर्न कठिनाइ हुने आमाले बताउनुभयो । सामान्य अवस्थामा हिँड्न सक्ने भए पनि उकालो तथा अप्ठ्यारो बाटोमा हिँड्न अरूको सहारा आवश्यक पर्ने उहाँको भनाइ छ । छोरीको अवस्थाबारे जानकारी नपाउँदा परिवार चिन्तित बनेको उहाँले बताउनुभयो ।
सबिनाको खोजतलासका लागि परिवारले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय धरान र चतरामा निवेदन दिएको रिमा विश्वकर्माले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार सबिनाको मोबाइल फोनको लोकेसन काठमाडौँ देखिएको छ । प्रहरीले उहाँको खोजी कार्य अघि बढाएको जनाएको छ ।
परिवारले सबिनाको अवस्था पत्ता लगाउन र उहाँलाई सुरक्षित रूपमा घर फर्काउन सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
_गोरखापत्र अनलाइनबाट