धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गायक सन्देश विश्वकर्मा र गायिका बबिना किराँतीले तिहारको विशेष कोशेलीस्वरूप नयाँ देउसी गीत ‘आयो है तिहार’ सार्वजनिक गरेका छन्।
ग्लिम नेपाल क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत गायक सन्देश विश्वकर्माकै रहेको छ।
गीतको भिडियोमा तिहारको मौलिक परम्परा, झिलिमिली बत्ती, लक्ष्मीपूजा तथा देउसी–भैलोको सांस्कृतिक रौनकलाई निर्देशक कमान तामाङले आकर्षक ढङ्गले प्रस्तुत गरेका छन्।
भिडियोमा नारायण राई र निशा बस्नेत मुख्य कलाकारका रूपमा देखिएका छन् भने देउसे टोलीका नाइके तथा भट्याउने भूमिकामा सुवास विश्वकर्मा प्रस्तुत भएका छन्।
गाउँघरमा खेलिने परम्परागत देउसी टोलीकै झल्को दिने भिडियोमा पारिवारिक जमघट, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र तिहारको उल्लासलाई समेटिएको छ।
गीतमा घरघरमा पुगेर दिइने परम्परागत आशिष, मादल र बाँसुरीको धुनसँगै चेलीबेटी र दाजुभाइबीचको स्नेहलाई विशेष महत्त्व दिइएको छ।
तिहारको मौलिक संस्कृति र परम्परालाई गीतमार्फत संरक्षण गर्दै पर्वको रौनक थप्ने उद्देश्यले गीत ल्याइएको गायक तथा संगीतकार विश्वकर्माले बताएका छन्।
‘आयो है तिहार’ ले दर्शक तथा श्रोतामाझ तिहारको सांस्कृतिक माहोल थप जीवन्त बनाउने उनको विश्वास छ।