धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।
ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो।
बिहीबार बिहानदेखि निरन्तर भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढेका बेला पार गर्न खोज्दा बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बस फसेपछि त्यसमा सवार करिब ३० जना यात्रुलाई एक्स्काभेटरको सहायताले सुरक्षित उद्धार गरिएको स्थानीय रोशन कार्कीले जानकारी दिए।
बसमा सवार यात्रुहरूको सुरक्षित उद्धार भए पनि खोलामा पानीको बहाव उच्च रहेकाले बस निकाल्न कठिनाइ भएको छ।
नावा खोलामा आएको बाढीका कारण तमोर करिडोरको उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले खोलामा पानीको सतह बढेपछि हाललाई उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो।
कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा, तेह्रथुम, पाँचथर हुँदै हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्त्वपूर्ण द्रुत मार्गका रूपमा तमोर करिडोरलाई लिइन्छ।
तर, पाँचथर र धनकुटाको सीमामा पर्ने नावा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउनासाथ सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
पुलको अभावमा यात्रु तथा सवारीसाधनले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता रहेको छ भने पानीको बहाव बढ्दा यातायात सम्पर्क नै विच्छेद हुने गरेको छ।