धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका ३६ वर्षीय दीपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्र १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–९ बेलहराका राईको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक वबिन राईको कमान्डमा खटिएको टोलीले ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टम तथा आवश्यक प्रक्रिया पूरा गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अवरुद्ध हुन सक्ने राजमार्ग हाल सुचारु रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।