धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा युएन स्कुलकी छात्रा सेयमी गजमेर प्रथम भएकी छिन्।
स्कुलमा कक्षा ७ मा अध्ययनरत सेयमीले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्। प्रथम भएसँगै सेयमीलाई नगद रू. ५,००० (पाँच हजार) र कदरपत्रसहित सम्मानित गरिएको छ।
स्कुलका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै युएन स्कुलका विद्यार्थीहरू पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर अब्बल साबित हुँदै आएको बताउनुभयो।
"हामीले किताबी ज्ञानका साथसाथै समयसापेक्ष र युग सुहाउँदो व्यावहारिक ज्ञान तथा तालिमको व्यवस्था गर्दै आएका छौँ, जसको परिणामस्वरूप हाम्रा विद्यार्थीहरूले प्रत्येक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्," उहाँले भन्नुभयो।
त्यस्तै, स्कुलकी कार्यक्रम संयोजक तथा शिक्षिका सीता सुब्बा खापुङले युएन स्कुल सहभागी हुने अधिकांश प्रतियोगिताहरूमा उपाधि जित्न सफल भएको इतिहास रहेको उल्लेख गर्दै भन्नुभयो, "हाम्रा विद्यार्थीहरू कुनै पनि प्रतियोगिताबाट खाली हात फर्कनु परेको छैन।
त्यसैको निरन्तरता स्वरूप सेयमीले यस पटक पनि प्रथम स्थान सुरक्षित गरेकी छिन्। यो सम्पूर्ण युएन स्कुल परिवारका लागि अत्यन्तै खुसी र गर्वको विषय हो।"
छात्रा सेयमी गजमेरलाई बधाई ज्ञापन गर्दै युएन स्कुल परिवारले उहाँको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा थप सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ।