धरान/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय रहेका आले मगरले युवा पुस्ताको नेतृत्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्याम्पस धरानका उपसभापति हुँदै संगठनमा सक्रिय रहेका उनी हाल महेन्द्र क्याम्पस धरानका इकाई सभापतिका रूपमा कार्यरत छन्।
२०७९ सालको स्ववियु निर्वाचनमा सभापति पदका उम्मेदवारसमेत रहेका आले मगर विद्यार्थी राजनीतिमार्फत संगठन निर्माण, नेतृत्व विकास र युवा सहभागिताका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका आले मगर हाल कानुन विषयमा एलएलबी अध्ययनरत छन्। राजनीतिक तथा सामाजिक विषयमा रुचि राख्ने उनी शालीन, अध्ययनशील र सक्रिय युवा नेताका रूपमा विद्यार्थी तथा कांग्रेसको स्थानीय पंक्तिमा परिचित छन्।
१५औँ महाधिवेशनको अवसरमा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारी दिनुलाई उनले युवा पुस्ताको सहभागिता बढाउँदै संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रयासका रूपमा लिएका छन्।
सुनसरी क्षेत्र नं. १ मा कांग्रेसको क्षेत्रीय सभापतिका लागि युवा पुस्ताबाट आएको आले मगरको उम्मेदवारीसँगै आगामी अधिवेशनको राजनीतिक प्रतिस्पर्धा थप चासोपूर्ण बनेको छ।
