सुनसरी/ धरानका तत्कालीन मेयर तथा हाल प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)की जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।
वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै अदालतले पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरेको हो।
उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ।
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट छोरी एलिसा राई रहेको उल्लेख गरेकी थिइन्। आफूहरूबीच कानूनबमोजिम अंशबण्डा नभएको तथा अंशबण्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूको नाममा रहेको भन्दै उनले आफ्नो अंश माग गरेकी थिइन्।
फिरादपत्रमा दिलमायाले वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झै–झगडा र कुटपिट हुने गरेको आरोप लगाएकी छन्। उनले हर्कराजले परस्त्रीसँग सम्बन्ध राखेको आरोपसमेत लगाएकी थिइन्।
पटक–पटक इलाका प्रहरी कार्यालयमा उजुरी गरे पनि छोरीको अनुहार हेरेर पति–पत्नी मिलेर बसेको उनको दाबी थियो। विदेशबाट फर्किएपछि पनि हर्कराजले त्यस्तो सम्बन्ध कायम राखेको र आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको उनको फिरादमा उल्लेख छ।
प्रहरीमा पुनः रिपोर्ट गरेपछि हर्कराजले आफूलाई ‘के गर्नुपर्छ गर, कहाँ जानुपर्छ जा, तँलाई घरमा बस्न दिन्न, खानलाउन पनि दिन्न’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको दाबीसमेत दिलमायाले गरेकी थिइन्।
चार अंशियार मागेकी दिलमायाको मुद्दामा पाँच अंशियार कायम
दिलमायाले विपक्षीहरूको सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई पतिको एक भागबाट आफू, पति हर्कराज र छोरी एलिसाबीच पुनः तीन भाग लगाएर आफ्नो हिस्सा कायम गरिनुपर्ने माग गरेकी थिइन्।
तर अदालतले नाता, पुस्तावली तथा पेश भएका प्रमाणहरूको अध्ययनपछि पाँच अंशियार कायम गरेको छ।
फैसलामा हर्कराज राई, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार रहेको उल्लेख छ।
यी अंशियारबीच यसअघि विधिवत् अंशबण्डा भएको प्रमाण नदेखिएको अदालतको ठहर छ। अदालतले प्रतिवादीहरूले पेश गरेको तायदाती फाँटवारीसमेत अध्ययन गरेको थियो।
प्रतिवादीहरूको नाममा सम्पत्ति रहेको देखिए पनि ती सम्पत्तिमा अंशियारहरूको हक लाग्ने निष्कर्ष अदालतले निकालेको छ।
निजी आर्जनको दाबीमा पनि प्रमाण खोज्यो अदालतले
मुद्दाका क्रममा आशय कुमार राईको नाममा रहेका कित्ता नम्बर ३९५, ९२५ र ९२९ का सम्पत्ति ब्रिटिस सेनामा काम गरी कमाएको रकमबाट खरिद गरिएको र ती निजी आर्जनका सम्पत्ति भएकाले अंशबण्डाबाट अलग राखिनुपर्ने दाबी गरिएको थियो।
तर ब्रिटिस सेनाबाट कमाएको रकम नेपालमा ल्याई ती सम्पत्ति खरिद गरिएको भन्ने दाबी पुष्टि हुने प्रमाण पेश भएको नदेखिएको अदालतले उल्लेख गरेको छ।
त्यसैले ती सम्पत्तिलाई अंशबण्डाबाट अलग राख्ने आधार नदेखिएको फैसलामा उल्लेख छ। हर्क साम्पाङले दिलमायाको दाबी खण्डन गर्ने प्रमाण दिन नसकेको ठहर
अदालतले दिलमायाले गरेको घरनिकाला तथा खानलाउन नदिएको दाबीमाथि पनि विचार गरेको छ। फैसलामा हर्कराजले दिलमायालाई खानलाउन दिएको भए उनी पति समेतलाई विपक्षी बनाई अंश मुद्दा लिएर अदालतसम्म आउनुपर्ने अवस्था किन आयो भन्ने सम्बन्धमा हर्क साम्पाङले अन्यथा पुष्टि गर्न नसकेको उल्लेख छ।
अदालतले मुद्दाका क्रममा विभिन्न व्यक्तिको बयानसमेत अध्ययन गरेको थियो। बयानमा हर्क साम्पाङ, उनका दाजुहरू आशय कुमार राई र एकराज राई तथा किताव सिंह राईकी श्रीमती धनकुमारी राईसमेत गरी पाँच अंशियार रहेको उल्लेख भएको फैसलामा छ।
हर्क साम्पाङको हिस्साबाट दिलमायालाई अंश
अदालतले पाँच अंशियार कायम गर्दै अंश लाग्ने सम्पत्ति पाँच भाग लगाउने आधार लिएको छ। त्यसपछि हर्क साम्पाङको भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाएर त्यसबाट दिलमायालाई एक भाग अंश दिनुपर्ने ठहर गरेको छ।
यस हिसाबले समग्र अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा १/१५ हुने देखिन्छ। अर्थात् पाँच अंशियारमध्ये हर्कराजको हिस्सा १/५ कायम भएपछि हर्कराजको सो हिस्सालाई हर्कराज, दिलमाया र एलिसाबीच तीन भाग लगाउँदा दिलमायाको हिस्सा १/१५ हुन्छ।
अदालतले दर्ता स्रेस्तामा कायम सम्पत्तिलाई पाँच भाग लगाई सोहीअनुसार अंश छुट्याउन र हर्क साम्पाङको हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने ठहर गरेको छ।
उपलब्ध अदालतको कागजातअनुसार यो मुद्दा सम्बन्धविच्छेद अर्थात् ‘डिभोर्स’सम्बन्धी मुद्दा नभई अंशचलनसम्बन्धी मुद्दा हो। मुद्दामा अदालतले हर्क साम्पाङको हिस्साबाट उनकी जेठी पत्नी दिलमायालाई अंश दिनुपर्ने फैसला गरेको हो।
