झापा/ झापाको मेचीनगर–१० धुलाबारी माइत भएकी हेमा मण्डलको भारतको नक्सलबारीमा रहस्यमय मृत्यु भएको घटनामा उनका श्रीमान् विप्लव कुमार चौधरी पक्राउ परेका छन्।
नक्सलबारीको रथखोला मोडस्थित भाडाको घरमा हेमाको सडिसकेको अवस्थामा शव फेला परेको थियो। घटनापछि हेमाको माइती पक्षले उनको मृत्यु स्वाभाविक नभई हत्या भएको आशंका गर्दै प्रहरीमा उजुरी दिएपछि भारतीय प्रहरीले श्रीमान् विप्लवलाई नियन्त्रणमा लिएको हो। उनलाई सिलिगुडी अदालतमा समेत पेश गरिएको छ।
भारतको गंगारामपुरका विप्लव करिब दुई वर्षअघि नेपालमा काम गर्न आएका बेला हेमासँग प्रेम सम्बन्धमा जोडिएका थिए। त्यसपछि उनीहरूले भागेर विवाह गरेका थिए। विवाहपछि विप्लवले नेपालमा मोबाइल फोनको व्यापार गर्दै आएका थिए भने दम्पती भारतको नक्सलबारीमा भाडाको घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार विप्लव कामको सिलसिलामा करिब एक सातादेखि घरबाहिर रहेका थिए। उनी घर फर्किएपछि पत्नी हेमाको शव सडिसकेको अवस्थामा फेला परेको बताइएको छ। घटनाको खबर पाएलगत्तै नक्सलबारी प्रहरी घटनास्थल पुगेर शव बरामद गरी नक्सलबारी अस्पताल पुर्याएको थियो।
म्याजिस्ट्रेटको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ।
घटनाबारे जानकारी पाएपछि नेपालबाट हेमाका परिवारका सदस्य भारत पुगेका छन्। हेमाका बुबाले आफ्नै ज्वाइँ विप्लव छोरीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।
प्रहरीले हेमाको मोबाइल फोनसमेत बरामद गरेको छ। मोबाइलमा उनीहरूबीच असमझदारी तथा भनाभन हुने गरेको संकेत भेटिएको भारतीय प्रहरीले जनाएको छ। उनीहरूबीच अन्तिमपटक सेप्टेम्बर २१ मा फोनमा कुराकानी भएको बताइएको छ।
माइती पक्षको उजुरीका आधारमा नक्सलबारी प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। हेमाको मृत्यु हत्या हो वा अन्य कारणले भएको हो भन्ने विषय पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।