सुनसरी/ धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था युएन-नवोदयकलेजले कक्षा ११ का होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि अभिमुखीकरण (Orientation) तथा होटल भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।
कलेजले आफ्ना विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले कोशी प्रदेशकै पहिलो र शीर्ष पाँच तारे होटलको भ्रमण गराएको हो।
कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोका अनुसार, युएन नवोदय कलेज मिहिनेती र अनुशासित विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। होटल म्यानेजमेन्ट विषय सिद्धान्तमा मात्र सीमित नभई पूर्ण रूपमा व्यावहारिक विषय पनि हो, प्रिन्सिपल तुम्बापोले भने, विद्यार्थीहरूले सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको ज्ञान एकसाथ प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्रदेशको उत्कृष्ट पाँच तारे होटलमा यो भ्रमण र अभिमुखीकरण गराइएको हो।
भ्रमणका क्रममा आयोजित अभिमुखीकरण कार्यक्रममा होटल म्यानेजमेन्टका संयोजक गगनमान श्रेष्ठ र प्राक्टिकल संयोजक सिर्जना लिम्बूले होटल म्यानेजमेन्ट सङ्काय, यसको महत्त्व र अन्तर्राष्ट्रिय बजारमा यसका सम्भावनाहरूबारे विस्तृत प्रस्तुति दिनुभएको थियो।
कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले समय-सापेक्ष रूपमा सङ्काय अनुसार विद्यार्थीहरूलाई विभिन्न अभिमुखीकरण तथा व्यावहारिक भ्रमण कार्यक्रमहरू कलेजले निरन्तर गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो।
कक्षा ८ देखि नै युएन कलेजमा पढ्ने सपना बोकेका विद्यार्थीहरूले यो भ्रमणबाट आफूहरू अत्यन्तै उत्साहित भएको प्रतिक्रिया दिएका छन्। सैद्धान्तिक अध्ययनसँगै वास्तविक पाँच तारे होटलको कार्यशैली प्रत्यक्ष रूपमा देख्न र सिक्न पाउँदा आफूहरूको शैक्षिक यात्रा थप प्रभावकारी बनेको उनीहरूको भनाइ थियो।
उक्त अभिमुखीकरण तथा भ्रमण कार्यक्रमको सञ्चालन कलेजका फ्याकल्टी तथा प्राध्यापक अनिमेश बास्तोलाले गर्नुभएको थियो।

