धरान/ भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा आजबाट सातौँ इन्टर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरानको हाताभित्र रहेको ब्याडमिन्टन कोर्टमा दुवै देशका राष्ट्रिय गीतसँगै पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक प्रभारी अधिकारी मेजर डा. सुवर्ण स्वामी, नेपाल एसबीआई प्रदेश प्रबन्धक श्रीमती दमयन्ती जोशी र नेपाल प्रहरी स्कुल धरानकी प्रिन्सिपल श्रीमती मनिका सुब्बा राईले संयुक्त रूपमा प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो ।
विगतका वर्षहरूमा झैँ यस वर्ष समेत पूर्वाञ्चलमा रहेका भूपू समितिहरू प्रतियोगितामा उत्साहका साथ सहभागी भएका छन् । सहभागी १४ वटा समितिका १९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जसमा दमक झापाका २५ जना, बिर्तामोडका २० जना, तेह्रथुमका ४ जना, पेन्सन वितरण कार्यालय धरानका ६ जना, उदयपुर गाइघाटका ७ जना, इलामका १२ जना, बेलबारी मोरङका ११ जना, पथरीका २ जना, धरानका ५५ जना, शान्तिनगर इटहरी सुनसरीका ७ जना, संयुक्त भूतपूर्व सैनिक संघ इटहरीका ३१ जना, झुक्काका ३ जना, ताप्लेजुङका २ जना र धनकुटाका ६ जना खेलाडी रहेका छन् ।
प्रतियोगी खेलाडीहरूलाई उमेरका आधारमा ८ वर्गमा विभाजित गरिएको छ । जसमा पुरुष डबलतर्फ ५० वर्षभन्दा कम उमेर समूहका ३१ टिम, ५० वर्षदेखि ६० वर्ष उमेर समूहका ३० टिम, ६० वर्षदेखि माथि उमेर समूहका ९ टिम, श्रीमान–श्रीमती (spouse) क्याटेगरीमा ९ महिला टिम, पुरुष सिंगलतर्फ ५० वर्ष उमेरभन्दा कम १३ टिम, पुरुष ५१–६० वर्ष उमेर समूहमा १३ टिम रहेका छन् ।
यसैगरी उमेरले नेटो काटे पनि भूपू सैनिकहरूको जोश र उत्साहलाई मध्यनजर गरी आयोजकले पुरुष सिंगलतर्फ ६१ वर्षभन्दा माथि ५ टिमले समेत प्रतिस्पर्धा गर्ने व्यवस्था गरेको छ । यस्तै महिला सिंगल (Open Dependent Daughters) क्याटेगरीमा २ टिमले समेत प्रतिस्पर्धा गर्ने भएका छन् ।
सो अवसरमा बोल्दै कार्यवाहक प्रभारी अधिकारी मेजर डा. सुवर्ण स्वामीले भन्नुभयो, ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने सम्पूर्ण भूतपूर्व सैनिक समितिका खेलाडीहरूलाई स्वागत गर्दै कार्यक्रमलाई हर्षोल्लासका साथ स्मरणीय बनाउनका लागि पेन्सन वितरण कार्यालयको निम्तोलाई स्वीकार गरी हामीसँग आउनुभएका अतिथि दमयन्ती जोशी र मनिका सुब्बा राईलाई धन्यवाद दिनुभएको थियो । यो प्रतियोगिता केवल एउटा खेलमात्र नभई भूपूहरूबीचको मित्रता, अनुशासन र आत्मबलको प्रतीक पनि हो ।
खेलकुदले मानिसको स्वास्थ्य, प्रतिस्पर्धाको भावना, अनुशासन र आत्मविश्वास विकास गर्न मद्दत पु¥याउँछ, जुन हाम्रा भूपूहरूले सैन्य जीवनमा सिकेका मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । धरान जस्तो सौन्दर्य र खेलप्रेमीहरूको सहरमा यस प्रकारको कार्यक्रम हुनु आफैँमा गर्वको कुरा हो । यस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै खेलकौशल, खेल भावना र अनुशासनले भविष्यमा अझ धेरै प्रतियोगिताहरूको ढोका खुल्नेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन पेन्सन वितरण कार्यालय धरानका एडम अनिल कुमार श्रेष्ठले गर्नुभएको थियो भने पहिलो दिनको उद्घाटन खेलमा विभिन्न उमेर समूहका पुरुष सिंगल, पुरुष डबल र महिला डबलतर्फ गरी कुल ४८ प्रतियोगिता भएका थिए ।