विराटनगरमा ट्राफिक लाइट

  • साउन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । एक महिनाअघि नै जडान गरिएको लाइटको सोमबार बिहान उद्घाटन गरिएको हो ।

विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गरेका छन् ।

प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक आवतजावत हुनेभित्र पर्छ ।

सवारी चापका कारण अस्तव्यस्त बन्दै विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

लाइटको उद्घाटन गर्दै मन्त्री अधिकारीले अबका दिनमा सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको बताए ।

ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढङ्गले सडक पार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

जनघनत्व र सवारी चापको अवस्थालाई मध्यनजर गर्दै विराटनगरका विभिन्न स्थानमा ट्राफिक लाइट राख्ने योजना बनाइएको अधिकारीको भनाइ छ ।केही दिनभित्र उदयपुरमा पनि ट्राफिक लाइट सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ ।

उदयपुरमा पनि यसअघि नै लाइट जडान गरिसकिएको छ । प्राविधिक पक्षको परीक्षण गर्ने काम भइरहेको छ ।

मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले विराटनगरको बरगाछी चोकमा कोशी लोक मार्ग र सहायक सडक पार गर्न चार वटै कोणमा लाइट जडान गरिएको जानकारी दिए ।

उनका अनुसार ट्राफिक लाइट उद्घाटन लगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो । मन्त्रालयको २३ लाख रुपैयाँको लागतमा लाइट जडान गरेको थापाले बताए ।

लाइट उद्घाटन कार्यक्रममा निमित्त सचिव थापासहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सुमन न्यौपानेलगायत उपस्थित थिए ।

बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ । ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा लामो समयसम्म सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो । लाइटको प्राविधिक पक्षलगायतको परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको मन्त्रालयका सचिव थापाले बताए । उनका अनुसार ट्राफिक लाइटमा सबैलाई अभ्यस्त बनाउन यसअघिदेखि नै सचेतनामूलक कार्यक्रम गरिँदै आएको थियो ।

लाइट एक महिनाअघि नै जडान गरिएको हो । तर, जेब्रा क्रस निर्माण र प्राविधिक पक्षको विश्लेषण बाँकी रहेका कारण यसअघि सञ्चालनमा ल्याउन सकिएको थिएन ।

कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइसकिएको छ । विराटनगरका अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved