विराटनगर/ गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक मच्चाउने समूहप्रति मोरङ प्रहरी निर्मम ढंगले प्रस्तुत भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा केही समययता गुण्डागर्दी सुरु भएको छनक पाएलगत्तै प्रहरीले आक्रामक कारबाही अघि बढाएको हो । गुण्डागर्दी रोक्ने, समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र आतंक फैलाउने समूहलाई कानुनको दायरामा ल्याउने प्रहरीको उदेश्य छ ।
गुण्डा लक्षित कारबाही अघि बढाउन मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले विशेष अभियान चलाएर टोली परिचालन गरेका छन् ।
विराटनगरमा गुण्डागर्दी गरेर अशान्ति फैलाउने समूहका ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
विराटनगर महानगरपालिका–७ का २० वर्षीय छिरिङ भनिने नेनी शेर्पा, विराटनगर–११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिलनारायण चौधरी र २० वर्षीय सौजन गुरुङ पक्राउ परेका हुन् ।
मोरङ प्रहरीको हिरासतमा राखिएका उनीहरुमाथि इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले पक्राउ परेकाविरुद्ध अभद्र व्यहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए । उक्त समूहका ४ जना फरार रहेकाले खोजी तीव्र बनाइएको उनले बताए ।
विराटनगर–७ का २७ वर्षीय अंकित लिम्बू, मोरङको कटहरी गाउँपालिका–२ का २३ वर्षीय सरोज यादव, करन साह र लुसिफर भनिने रोहित ठाकुर फरार छन् ।
गुण्डागर्दीमा आबद्ध समूहले विराटनगर–४ एयरपोर्ट लाइनस्थित सिंहासन रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि जेठ ६ गते राति १०ः३० बजेतिर आक्रमण गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अंकित लिम्बूको नेतृत्वमा हतियारसहित पुगेको समूहले रेस्टुरेन्ट परिसरमा छिरेर आक्रमण गरेको हो ।
अंकितको समूहले पछिल्लो समय विराटनगरमा गुण्डागर्दीको सुरुवात गरेको प्रहरीको विश्लेषण छ ।
गुण्डाराज चलाउन अंकितले चिनजानका युवाहरुलाई भेला पारेर संगठित गर्दै लगेको अनुसन्धानबाट खुलेको छ ।
उक्त समूहले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसा नतिर्ने र पैसा माग्दा हतियार देखाएर आक्रमण गर्ने गरेको प्रहरीको भनाइ छ । सिंहासन रेस्टुरेन्टमा मापसे (मादक पदार्थ सेवन) गरेको र नास्ता खाएको पैसा माग्दा रिसईबी राखी योजना बनाएर सुपरभाइजरमाथि नै आक्रमण गरिएको डीएसपी बस्नेत बताउँछन् ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की गुण्डागर्दीविरुद्ध प्रहरीले विशेष कारबाही अघि बढाएको बताउँछन् ।
केही व्यक्तिले ‘ग्याङ’ खडा गरेर गुण्डागर्दी गर्न खोजेको पाइएपछि प्रहरी ‘एक्सन’मा गएको जानकारी उनले दिए ।
गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक सिर्जना हुन हुँदैन र गुण्डाराज चलाउन खोज्ने समूहलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर प्रहरी सक्रियता बढाइएको एसपी कार्कीले बताए । भने, ‘गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्छ । आतंक र अशान्ति मच्चाउनेलाई तत्काल कारबाहीको दायरामा ल्याउँछ ।’