धनकुटा महोत्सव ‘आयोजकको लापर्बाहीले दुर्घटना’

  • माघ १६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धनकुटामा माघ पहिलो सातादेखि सुरु भएको प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको नवौँ दिनमा कन्सर्ट हेर्न जाने क्रममा ठूलो दुर्घटना भएको छ ।
कन्सर्ट हेर्न गएकाहरुबीच ठेलमठेल हुदा  एकले अर्कोलाई थिच्ने क्रममा ४० जना भन्दा बढी घाइते भएका थिए ।

घाइतेमध्ये सामान्य घाइते भएकाहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरेर डिस्चार्ज भएर घर फर्किएका छन् भने गम्भीर प्रकृतिका १९ जना घाइतेलाई भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । घाइतेमध्ये ८ जना बालबालिका रहेका छन् । ६ जना बालबालिकाको बीपीमै उपचार भइरहेको छ भने दुईजनाको अवस्था गम्भीर भएका कारण विराटनगर लगिएको छ ।
यो महोत्सव पाँचौैँ महोत्सव हो । धनकुटा महोत्सवमा भएको दुर्घटना पहिलो भने होइन । चौथौ महोत्सवमा पनि कन्सर्ट हेर्ने क्रममा ठेलमठेल हुँदा चार जना सामान्य घाइते भएका थिए । तर आयोजकले विगतको घटनाबाट पाठ सिकेर सावधानी नअपनाउँदा महोत्सवमा आएका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।

घटना १४ गते शनिबारको हो । महोत्सवअवधिभर राष्ट्रिय कलाकारहरुको दमदार प्रस्तुति हुने गरेको महोत्सवमा शनिबार गायक प्रमोद खरेलले प्रस्तुती दिन लागेका थिए । शनिबार त्यसमाथि पनि नेपालका लोकप्रिय गायक खरेल आउने भनिए पछि धनकुटाबाटमात्र हैन, तेह्रथुम, संखुवासभा सम्मका दर्शक ओइरिएका थिए ।

धनकुटाको टुडिखेलमा आयोजित महोत्सवमा कन्सर्ट हेर्न जानेहरु धेरैले टिकट लिएर गेटमा उभिएका थिए भने केहीले टिकट लिन बाँकी थियो । आयोजना स्थलमा पूर्व र पश्चिम दुईवटा प्रवेश ढोका राखिएको थियो । तर पश्चिमपट्टिको प्रवेशद्वारमा अत्यधिक चाप थियो । जब आयोजकले ढोका खोलिदियो लाइनमा बसेकाहरु एकाएक भित्र छिर्न खोज्दा ठूलो भीडका कारण एकले अर्कालाई धकेल्ने क्रममा कन्सर्ट हेर्न गएकाहरु लड्ने, लडेकाहरुलाई माथिबाट थिच्ने, टेक्ने गर्दा धेरै सर्वसाधारण घाइते भए ।

यो घटना करिब बेलुका ७: ३० बजेको हो । कन्सर्ट ८ बजेबाट सुरु हुने भनिएको थियो ।
भीड देख्दादेख्दै एकैपटक गेट खोलिदिँदा भीड नियन्त्रण हुन नसक्दा घटना भएको घाइतेहरु बताउँछन् ।

संखुवासभा घर भएका तर धनकुटामा डेरा गरी बस्ने गोकेण्डेश्वर माविमा अध्ययन गर्दै आएका १७ वर्षीय नविन पौडेलले भीडले ठेलमठेल हुँदा घटना भएको बताए । लडेका कारण अरुले किल्चिदै हिड्दा घाटीमा समस्या भएको र आयोजकले एकैपटक गेट खोल्दा लडेर आफ्नो यस्तो अवस्था भएको उनले बताए । उनले भने–‘यो आयोजकको लापरबाही हो, आयोजकको व्यवस्थापन फितलो हुँदा यो घटना घट्न गएको हो ।’
भाइसँगै कन्सर्ट हेर्न जाँदा खुट्टामा सामान्य चोट लागेका र भाइलाई बीपीमा उपचारका लागि लिएर आएका गिरिराज कार्की पनि आयोजककै लापरबाहीका कारण महोत्सवमा यत्रो ठूलो दुर्घटना हुन गएको बताए । उनले घटनाको स–विस्तार बताउँदै आयोजकले एकैपटक गेट खोलिदिँदा भित्र पस्न आतुर सर्वसाधारणको ठेलमठेलका कारण यो घटना घटेको बताए ।

उनले भने–‘म पनि त्यस घटनामा थिएँ, तर मेरोचाहिँ खुट्टामा सामान्य चोट लागेको छ, भाइलाई उपचार गर्न बीपी आएको हुँ, यस भन्दा अगाडि पनि यस्तै घटना घटेको थियो भन्ने सुनेको थिएँ, त्यसबाट आयोजकले पाठ सिक्न नसक्दा फेरि घटना दोहोरिएको स्पष्ट छ ।
महोत्सव उद्योग वाणिज्य संघ धनकुटाले गरेको हो । घाइते सबैको उपचार संघले गरिदिएको छ । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले यो घट्ना आयोजकको लापारबाही भन्दा पनि दुर्घटनाको रुपमा लिनुपर्ने बताए ।

उनले यस भन्दा अगाडिको महोत्सवमा कन्सर्टृमा आउँदा सानो दुर्घटना हुदा तीन चारजना सामान्य घाइते भएको बृतान्त बताउँदै सुरक्षाकर्मी, स्वयम्सेवक खटाउँदा खटाउँदै पनि ठूलो दुर्घटना हुन पुगेको बताए । उनले भने–‘सुरक्षालाई मजबुत बनाउँदा बनाउँदै पनि यो घट्ना घट्न गएको हो,

यो घट्ना घट्नुमा आयोजकको गल्ति भएपनि जानेर गरेको गल्ति थिएन, यसलाई दुर्घटनाको रुपमा लिनुपर्छ, दुर्घटनामा घाइते भएकाहरुको सम्पूर्ण खर्च उद्योग वाणिज्य संघले गरेको छ, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

उनले एक त शनिबार, त्यसमाथि गायक प्रमोद खरेल आउने भएपछि मानिसको भीड अचाक्ली रहेको बताउदै ७ हजार टिकट काटिस्रक्दा पनि टिकट सकिएर नभ्याएको बताए । कार्यक्रम सञ्चालन हुनु अगावै दुर्घटना भएका कारण शनिबारको कन्सर्टलाई स्थगित गरिएको बताए ।

घाइते भएर बीपी ल्याइएकाहरुमा धनकुटा ७ हुलाक टोलका ४० बर्षीय सन्दिप साह, संखुवासभाका १७ बर्षीय नविन पौडेल, धनकुटाकी ३० बर्षीय विनिता लिम्बु, ३० बर्षीय अनुष्का याख्खा, महालक्ष्मी नगरपालिकाकी ५० बर्षीया गोमा कार्की, २३ बर्षीया अनिषा राई, ३३ बर्षीया माया लिम्बु लगायत रहेका थिए भने बालबालिकामा बालबालिकाम ७ बर्षीय हविहाङ लिम्बु, ६ बर्षका प्रकट श्रेष्ठ, १२ बर्षीय प्रवेश राई । १२ वर्षीया श्रेया कटुवाल, १३ वर्षीया शान्ति योगी लगायत रहेका थिए ।

उनीहरुको अधिकांशको टाउको, घाटी, खुट्टामा चोट लागेको थियो । समयमै एम्बुलेन्स नपाएपछि घाइते कतिपयलाइ आफ्नै नीजि सवारी साधनमा समेत प्रतिष्ठानसम्म ल्याइएको थियो । सानो हेलच्याक्र्याईले ठूलो दुर्घटना निम्त्याएको छ, महोत्सव आयोजनाले गर्नेले महोत्सवलाई व्यवस्थित गर्ने कुरामा केन्द्रित हुन नसक्दा यो घटना घटेको घाइतेहरुको आरोप छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved