धरान/ एसियाकै प्रतिष्ठिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडक मै बनेका खाल्डाखुल्डीले एम्बुलेन्सहरु नै दुर्घटनाको जोखिममा परेका छन् । धरान ८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करिब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम त बढाएकै छ, दैनिक सयौंको संख्यामा अन्य सवारी साधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै विरामीलाई अस्पताल सम्म पुर्याउन समेत कठिन हुने गरेको छ ।
अस्पताल पुग्ने प्रमुख रुट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्याधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीमा जोगाउँदै सवारी साधन चलाउदा दुर्घटनाको जोखिम अत्याधिक रहेको एम्बुलेन्स चालक मिलन राई बताउँछन् । उनले भन्छन्, ‘विरामी लिएर आउँदा जथाभावि परेको खाल्डाका कारण विरामीले अझ धेरै दुखाई सहनुपर्ने हुन्छ, आकस्मिक कक्षमा चाडो पु¥याउनुपर्ने विरामीलाई समयमा पु¥याउन पनि कठिन हुन्छ ।’
विरामी बोकेर हिड्नुपर्ने व्यस्त सडकमा खाल्डाखुल्डी हुनु बिरामी सहित यात्रुहरुका लागि पनि समस्या भएको अर्का एम्बुलेन्स चालक श्याम गुरुङ बताउँछन् । उनी भन्छन्, ‘बरु पहाडबाट विरामी ल्याउदा कुनै सास्ती हुदैन, तर प्रतिष्ठान छिर्ने सडक जीर्ण हुदा विरामीले अत्यन्तै कष्ठ भोग्नुपर्ने बाध्यता छ ।’
प्रतिष्ठान जाने धनकुटे सडकमा खाल्डाखुल्डी परेको करिब ३ महिना भन्दा बढी भैसकेको छ । दैनिक सयौंको संख्यामा बिरामी लिएर हिड्ने सडकमै दुर्घटना हुन सक्ने किसिमका खाल्डाखुल्डी हुँदा पनि स्थानीय सरकारले चासो नदिएको गुनासो स्थानीयले पनि गर्न थालेका छन् । स्थानीय हेमराज भुजेलले खाल्डाखुल्डी बाट जोगिदै सवारी साधन चलाउँदा दुर्घटनाको सम्भावना उच्च रहेको बताउँछन् । उनले भने, ‘खाल्डाखुल्डी छ भन्ने थाहा हुँदाहँुदै पनि कहिलेकाही त विर्सिदोरहेछ, एकैचोटी खाल्डामा मोटरसाइकल परेपछि मात्र थाहा हुन्छ, सिकिस्त बिरामी लिएर साइरन बजाउँदै आएको एम्बुलेन्सलाई साइड दिने ठाउँ पनि हुँदैन् ।’
अस्पताल जाने सकड असुरक्षित बनेको महिनौं बिते पनि स्थानीय सरकारले चासो नदेखाए पछि अहिले सामाजिक संजालहरुमा पनि आलोचना हुन थालेको छ । प्रतिष्ठानकै प्रशासन शाखामा कार्यरत कर्मचारी महेश्वर राईले खाल्डाखुल्डीको फोटो पोस्ट गर्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । उनले लेखेका छन्, ‘विरोध गर्नै कै लागि फोटो राख्या होईन है हजुर । सधै यहि बाटो हिड्दा हुने शारीरिक दुखाई, बिरामीलाई आकस्मिक रुपमा कुदाउँदाको थप पीडा, सवारी विग्रिन्छ कि भने आर्काे तनाव सेतो नम्बर प्लेटमा हिड्नेहरुलाई के थाहा, सुने भने मार्छन् होला’ ।
थाले पछि स्थानीयले थप चासो देखाउँदै धरानका रोजेश शाक्यले ‘अब जनकपुर मा जस्तो कालो मोसो वाला कान्ड गर्नु पर्ने भयो धराने जनताले पनि’ भन्ने प्रतिक्रिया दिएका छन् । यस्तै धरानका अर्का युवा दिपेश वान्ताले ‘धरानलाई लालकिल्ला बनाएको उपहार’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
३ महिना अघि स्थानीयले प्रतिष्ठान जाने सडकको खाल्डाखुल्डी पुर्न ध्यानाकर्षण गराउँदै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र पनि बुझाएका थिए । चौतर्फी विरोध हुन थाले पछि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरी खाल्डाखुल्डी पुर्ने काम गर्यो । तर केही दिन नबित्दै पुनः खाल्डाखुल्डी बनेको छ । गिट्टीमात्र हालेर झारो टार्ने काम गरेको थियो । केही दिन अघि आएको अविरल बर्षाका कारण खाल्डोमा पुरेको गिट्टी बालुवा बगाएर लगेपछि त्यहा अझ ठूलो खाल्डाखुल्डीहरु बनेका छन् ।
धनकुटे रोडको सडक निर्माण गर्ने कार्य सडक डिभिजन कार्यालयको दायित्व भन्दै उपमहानगरपालिका र बीपी प्रतिष्ठान पन्छिने गरेका कारण समस्या समाधान हुन सकेको छैन् । सडक डिभिजनले पनि चासो नदिनु र स्थानीय सरकारले पनि झारो टार्ने काम मात्र गरेका कारण समस्या बल्झिरहेको स्थानीय बताउँछन् ।
राष्ट्रिय राजमार्ग अन्तर्गत सडक पर्ने भएकाले बेरुजु पर्ने डरले बजेट विनियोजन नगरेको धरान उपमहानगरपालिकाको भनाई छ । उपमहानगरका अनुसार यो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयको हो । तर सम्बन्धित पक्षले ध्यान नपु¥याउदा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ । शुरुमा सानो खाल्डाखुल्डी भएपनि भर्खरै आएको अविरल बर्षाले खाल्डाखुल्डी गहिरो बन्दै गएको छ । सम्बन्धित पक्षले चाडो मर्मत सम्भार गर्न सकेन भने विरामी निको पार्न लगेको विरामी नै ठूलो दुर्घनामा पर्न सक्ने सम्भावना बढेर गएको छ ।
यता धरान उपमहानगरपालिकाले तिहार अघि नै कालोपत्रे गरिने जनाएको छ । आइतबार मेयर तिलक राईको उपस्थितिमा बसेको छलफलले धनकुटे रोडमा भएका खाल्डोहरुलाई पुर्न तथा कालोपत्रे गर्नका लागि एक उपभोक्ता समिति र अुनगमन समिति गठन गरिएको छ ।
धरान धनकुटे सडक कालोपत्रे तथा सडक मर्मत गर्नका लागि उपभोक्ता समितिको अध्यक्षमा सुर्य कुमार लिम्बु, सचिवमा कुन्दन तामाङ र कोषाध्यक्षमा उमा राजभण्डारी चयन भएका छन् । सदस्यहरुमा सुनिल खड्का, नवराज श्रेष्ठ, रवि लिम्बु, भावना सुब्बा, नमिता राई र टिका लिम्बु छन् । यस्तै, अनुगमन समितिको संयोजकमा धरान वडा नं. १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई चयन गरिएको छ । सदस्यहरुमा निर्मल राई, पुर्णबहादुर गुरुङ, हर्क साम्पाङ र रेणुका राई रहेका छन् ।
मेयर राईले धेरै पुरानो सडक भएको हुनाले समय समयमा बिग्रि रहने अवस्था रहेको बताए । मेयर राईले भने, ‘विपी प्रतिष्ठान आउने धनकुटे रोडमा गत वर्ष पनि केही बजेट छुट्याएर खाल्डाखुल्डी पुरेका थियौं, पिच गर्ने योजना बनाउँदै गर्दा केहीदिन अघि मात्र आएको अविरल वर्षाले फेरी जस्ताको त्यस्तै बनायो ।’