पथरी नगरमा ‘होल्डिङ एरिया’ निर्माण हुने र बजार गर्न पास चाहिने
- जेठ ९, २०७७
- "कोशीपत्र/संवाददाता"
मोरङको पथरी शनिश्चरे नगरपालिकामा बिहिबार सम्पन्न कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले नगरको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।
नगर र आसपास क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने र भारतलगायतका देशबाट नेपालीहरू फर्केर आउने सक्ने अवस्थालाई मध्यनजर गर्दै होल्डिङ स्थल बनाउने निर्णय गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो ।
नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकले नेपाल बाहिरबाट आएकाहरूका लागि आफ्नो क्षेत्रभित्र क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो । सोहीअनुरूप समन्वय समितिले पथरी डिग्री क्याम्पसको प्राङ्गण सहित १० वटा कोठालाई शयनविश्रामका लागि बेडका रूपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको छ ।
यहिँबीचमा उपचारका लागि सिलिगुडीस्थित बाघडोग्रा गएका पथरी शनिश्चरे नपा वडा नं. १ का २ जना र रोजगारीका लागि दार्जेलिङको कालेङपोङ गएका २ जना गरी ४ जना पुरूषलाई प्रारम्भिक रूपमा त्यहाँ राखिएको हो ।
श्रमबजारका लागि भारत लगायतका देशबाट नेपाल फर्किएका नेपालीहरूका लागि कोरोना संक्रमणबाट जोगाउने योजनामा खाना र सुरक्षित बसोबासको प्रवन्ध गर्दै हाललाई होल्डिङ एरियामा १५ वटा बेड राखिएको छ । त्यसरी घर आउनेहरूलाई क्वारेन्टाइनमा जानुअघि सुरक्षित रूपमा छुट्टै राख्न सरकारको योजना अनुरूप नगरपालिकाले पनि ‘होल्डिङ एरिया’ खडा गरको हो । ‘होल्डिङ एरिया’ बाट क्वारेन्टाइनमा पठाएर आवश्यक अनुरूपको स्वास्थ्य चेकजाँच गराइने वडा नं. १ का अध्यक्ष बाबुराम ऐङदेन लिम्बुले बताउनुभयो ।
बैठकले यहिँबीचमा कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यान दिएर नगरले जेठ ७ देखि १० गतेसम्मका लागि औषधि पसलबाहेकका सम्पूर्ण पसल वन्द गराएको छ । नगरले ‘प्रहरी र प्रहरीको साथी म’मार्फत आफ्नो नगरको सिमा क्षेत्रमा आवतजावतमा कडाई गर्दै लकडाउनलाई थप कडा बनाएको प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले भन्नुभयो ।
बैठकको अर्को निर्णयानुसार सागसब्जी पसल एकै ठाउँमा हुँदा भिडभाड अचाक्ली बढ्ने भएपछि बुद्धचौक, रत्नचौक, शिखरचौक, जनआन्दोलन चौक, मन्दिरलाइन र सब्जी बजारमा सोही समयमा सागसब्जी खरिदबिक्री हुने पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले जानकारी दिनुभयो ।
अध्यक्ष बस्नेतका अनुसार भीडभाड नियन्त्रण गर्न बजार पासको व्यवस्थापन हुने भएको छ ।
निर्वाचित संस्था, त्यो पनि स्थानीय सरकारलाई अनिर्वाचित व्यक्ति सम्मिलित समितिले निर्णय प्रक्रियालाई कार्यान्वयनमा ल्याइरहँदा यसको नेतृत्वको जवाफदेहिताको पक्ष अलोकतान्त्रिक हुने र मर्यादानुसार चल्न चलाउन नहुने मत आइरहेको बेला सम्पन्न यो बैठकमा भने वडा नं. १ का अध्यक्ष बाबुराम एङ्देन लिम्बू, वडा नं. २ का अध्यक्ष यमनाथ गुरागाई, वडा नं. ६ का अध्यक्ष जयबहादुर तामाङ र वडा नं. ७ का अध्यक्ष कपिलमणि ढकालको उपस्थिति रहेको थियो ।