धरान/ याक्थुङ समुदायको भाषा, लिपि, इतिहास, संस्कृति र मुन्धुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘याक्थुङ लिम्बू हेरिटेज आर्काइभ्स’ वेबसाइटको औपचारिक शुभारम्भ गरिएको छ।
बुधबार (वि.सं. २०८३ मंसिर २ गते) एक कार्यक्रमका बीच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार तिलबिक्रम नेम्बाङ ‘बैरागी काइला’को बाहुलीबाट उक्त वेबसाइटको प्रारम्भिक चरण सार्वजनिक गरिएको हो।
विश्वभर छरिएर रहेका याक्थुङ समुदाय तथा इच्छुक अनुसन्धानकर्ताहरूलाई डिजिटल माध्यमबाट जोड्ने लक्ष्यका साथ यो अभिलेखालय स्थापना गरिएको संस्थाले जनाएको छ।
संस्थाकी अध्यक्ष माल्भिका सुब्बाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, याक्थुङ समुदायको पहिचान र सभ्यतासँग जोडिएका ऐतिहासिक दस्तावेज, तस्बिर, श्रव्यदृश्य सामग्री तथा दुर्लभ पुस्तकहरूलाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गरिनेछ।
अध्ययन र अनुसन्धानमा सहज पहुँच
प्रकाशित भएर पनि सबैको पहुँचमा पुग्न नसकेका र हालसम्म पुस्तकका रूपमा प्रकाशन नभएका याक्थुङ लिम्बु तथा लिम्बुवानसम्बन्धी महत्वपूर्ण सामग्रीहरूलाई सम्बन्धित लेखक र प्रकाशकसँगको सम्झौतामा आर्काइभ्समा समावेश गरिएको छ।
वेबसाइटमा भण्डारण गरिएकामध्ये केही सामग्रीहरू पाठकका लागि निःशुल्क उपलब्ध छन् भने केही पुस्तक तथा सामग्रीहरू बिक्रीमा राखिएका छन्।
लेखक तथा अनुसन्धानकर्तालाई ७० प्रतिशत रकम
स्रष्टाहरूको सिर्जना र श्रमको उचित सम्मान होस् भन्ने उद्देश्यले बिक्री भएका पुस्तकबाट प्राप्त हुने कुल रकमको ७० प्रतिशत हिस्सा सम्बन्धित लेखक तथा अनुसन्धानकर्ताहरूलाई नै प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।
यस अभियानलाई सफल बनाउन भाषा, साहित्य, इतिहास र मुन्धुमसम्बन्धी जानकार व्यक्तित्व, लेखक, कलाकार, संघसंस्था तथा आम समुदायबाट आवश्यक सामग्री र सुझावको अपेक्षा गरिएको अध्यक्ष सुब्बाले बताउनुभएको छ।
साथै, प्रारम्भिक चरणमा पुस्तक, जर्नल र जानकारीमूलक लेखहरू उपलब्ध गराउने महानुभावहरूप्रति संस्थाले कृतज्ञता व्यक्त गरेको छ।