धरान/ धरानमा ब्राउन सुगर लागूऔषधसहित एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१९ बाजेबजु चोकस्थित एक घरमा डेरा गरी बस्ने २१ वर्षीया सलिना परियारलाई प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मगलबार राति करिब ११ बजेर १५ मिनेटको समयमा परियारले आफ्नो कोठाभित्र लागूऔषध लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा खुकुरी चुरोटको बट्टाभित्र कालो प्लास्टिकले बेरेर राखिएका सातवटा साना पोका फेला पारेको थियो। उक्त पोकाभित्र ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखेको छ।
बरामद पदार्थको तौल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।