धरान/ धरान १६ मा अवस्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुका साथै ‘बेस्ट फिमेल पुम्से प्लेयर’को उपाधि हात पारेकी छन्।
चितवन तेक्वान्दो डोजाङद्वारा आयोजित ‘प्रथम सौराहा ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप–२०२६’ मा युमीले उत्कृष्ट कौशल प्रदर्शन गर्दै दोहोरो सफलता हासिल गरेकी हुन्। उनले स्वर्ण पदकसँगै उत्कृष्ट महिला पुम्से खेलाडीको उपाधि जितेर १०० अमेरिकी डलर नगद पुरस्कारसमेत प्राप्त गरेकी छन्।
युएन नवोदय कलेजमा कक्षा ११ को होटल म्यानेजमेन्ट विषय अध्ययनरत युमीले नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बङ्गलादेश, सिङ्गापुर, जापान र साउदी अरेबियाका करिब ८०० खेलाडी सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो सफलता हासिल गरेकी हुन्।
युमीको सफलताप्रति खुसी व्यक्त गर्दै कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विद्यार्थीहरू पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् भन्ने कुरा युमीले पुनः प्रमाणित गरेको बताए।
उनले विद्यार्थीको प्रतिभा र क्षमतालाई उचित अवसर प्रदान गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सकिने उल्लेख गरे।
त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले विद्यार्थीको रुचि र प्रतिभाअनुसार कलेजले शैक्षिक क्षेत्रसँगै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा निरन्तर सहयोग गर्दै आएको बताए।
अनुशासन, मेहनत र लगनशीलताका कारण विभिन्न प्रतियोगितामा सफलता हासिल गर्दै आएकी युमीको पछिल्लो अन्तर्राष्ट्रिय उपलब्धिले युएन नवोदय कलेजको गौरव बढाउनुका साथै धरानको खेलकुद क्षेत्रलाई समेत उत्साहित बनाएको छ।