सागेतिक तस्बिर
झापा/ झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा २१ वर्षीया युवतीको ज्यान गएको छ।
बुधबार साँझ कमल गाउँपालिका–३ स्थित सहिद गेटनजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा इलाम नगरपालिका–८ की २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको हो।
प्रहरीका अनुसार झिलझिलेबाट केर्खातर्फ आउँदै गरेको दमक नगरपालिका–९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८ नम्बरको स्कुल बसले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१८ प ४८८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५५४ नम्बरको ट्रकमा ठोक्किएको थियो। त्यसक्रममा मोटरसाइकल ट्रकको दाहिनेतर्फको चक्कामुनि परेको थियो।
मोटरसाइकलको पछाडि सवार लिम्बू गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ७ः५० बजे मृत घोषणा गरेका थिए।