फेसबुकमा भेटिएको साथीले पुर्‍यायो भारतको बन्द कोठामा

  • कार्तिक १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन् ।

सामाजिक सञ्जाल फेसबुकबाट साथी त पाइन्, तर त्यही साथीले भारतसम्म पुर्‍याउला भन्ने उनले कल्पनासमेत गरेकी थिइनन् । भारतको बिहारस्थित एउटा कोठामा बन्धक बनाइएकी ती बालिकालाई ‘साथसाथ’ संस्थाले उद्धार गरी नेपाल ल्याएको थियो ।

परिवारमा एक्लोपन भोगेर मायाको खोजीमा भारतसम्म पुगेकी ती बालिका भन्छिन्, “मैलेजस्तै मायाको प्रलोभनमा परी घर छोडेर कुनै बालबालिका कतै जान नपरोस् ।”
यस्तो अवस्था आउन नदिन अभिभावक नै बढी जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ छ । उनलाई उद्धार गर्न खटिएकी अधिवक्ता रसना ढकालका अनुसार परिवारको माया र हेरचाह नपाउँदा धेरै बालबालिका मानव बेचबिखनको चक्रव्यूहमा फस्ने गरेका छन् ।

खासगरी बालिकामाथि हुने यौन शोषण र बेचबिखनको अवस्था अझै डरलाग्दो रहेको ढकालले बताइन् । ‘साथसाथ’ संस्थाले यो वर्ष दुई जना बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाएर परिवारसँग पुनर्मिलन गराएको छ ।

संस्थाका अध्यक्ष सुचिता शाहले सडक बालबालिकाको अवस्था हेर्दा परिवारको माया, स्नेह र अभिभावकको संरक्षण नपाएका बालबालिका सडकमा आउन बाध्य भएको बताइन् । उनका अनुसार नेपालमा पाँच हजारभन्दा बढी बालबालिका सडकमा बसोबास गर्ने तथा जीविकोपार्जनका लागि काम गर्ने अवस्थामा छन् ।

“सडकका बालबालिका बेचबिखनको उच्च जोखिममा पर्छन्”, उनले भनिन्, “उनीहरु प्रायः बालश्रमका सबैभन्दा निकृष्टस्वरुप तथा विभिन्न प्रकारका शोषणको सिकार हुने गरेका छन् ।”

साथीको सङ्गतमा लागेर कञ्चनपुर हुँदै भारततर्फ जान लागेकी अर्की बालिकाको पनि संस्थाले बीच बाटोमै उद्धार गरेको अध्यक्ष शाहले बताइन् । उनका अनुसार घर छोडेर भाग्नुको कारण बुझ्दै जाँदा पीडित बालबालिकाले परिवारमा आमाबुबाको माया, हेरचाह र स्नेह नपाएको गुनासो गर्ने गरेका छन् ।

पछिल्लो समय सूचना प्रविधिको विकाससँगै अभिभावकले बालबालिकालाई पर्याप्त समय दिन नसक्नु तथा सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभनमा परेर घरपरिवार छोड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको शाहले बताइन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार देशभर हराएका पाँच हजार ६९ जना बालबालिकाको खोजतलास गरिएको छ । तीमध्ये एक हजार ३५३ बालक र तीन हजार ७१६ बालिका रहेका छन् ।

खोजतलास गरिएकामध्ये चार हजार ४५६ जना बालबालिका फेला परेका छन् । फेला परेकामा एक हजार २१० बालक र तीन हजार २४६ बालिका रहेका छन् । उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, बेवारिसे अवस्थामा फेला परेका १८४ जना बालबालिकाको उद्धार गरिएको छ । तीमध्ये १०५ बालक र ७९ बालिका रहेका छन् । उद्धार गरिएकामध्ये १०७ जनाको परिवार पहिचान गरी पारिवारिक पुनर्मिलन गराइएको छ भने परिवार पहिचान हुन नसकेका ७७ जनालाई बालगृहमा अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ ।

तथ्याङ्कअनुसार ११५ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ । उद्धार गरिएकामध्ये ८७ बालक र २८ बालिका रहेका छन् । तीमध्ये ३१ जनाको परिवार पहिचान गरी पारिवारिक पुनर्मिलन गराइएको छ भने ८४ जनालाई अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ ।

यस्तै, हिंसा तथा जोखिममा परेका ५२८ जना बालबालिकाको तत्काल उद्धार तथा पुनःस्थापना गरिएको छ । तीमध्ये २०३ बालक र ३२५ बालिका रहेका छन् ।

यस अवधिमा पाँच हजार ८८० जना बालबालिकालाई बाल हेल्पलाइनमार्फत जोखिम तथा हिंसासम्बन्धी मनोविमर्श, कानुनी परामर्श तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ ।

बालबालिकाको संरक्षणका लागि १० वटा संस्थालाई बालगृह सञ्चालन अनुमति प्रदान गरिएको छ भने २६ वटा बालगृहको सञ्चालन अनुमति नवीकरण गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको वर्ष २०८२ को तथ्याङ्कअनुसार मानव बेचबिखन तथा ओसारपसारबाट १०५ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११ बालक र ९४ बालिका रहेका छन् ।
त्यसैगरी, लागुऔषध प्रयोग तथा ओसारपसारसँग सम्बन्धित घटनामा ३१ जना बालबालिका पीडित, उद्धार गरिएका वा नियन्त्रणमा परेका छन् ।

परिवारभित्र माया, स्नेह, संरक्षण र उचित हेरचाहको अभावले बालबालिका घर छोड्न बाध्य हुने तथा मानव बेचबिखन, बालश्रम र विभिन्न प्रकारका शोषणको जोखिममा पर्ने अवस्था देखिएको छ ।

यस्तो जोखिम न्यूनीकरणका लागि अभिभावकको जिम्मेवारीसँगै बालबालिकाको सुरक्षा, संरक्षण र पुनःस्थापनामा सम्बन्धित निकायको प्रभावकारी भूमिका आवश्यक देखिएको छ ।

धरानमा जुवा खेल्दै र ...

धरान/ धरानका विभिन्न स्थानमा जुवाजन्य डाइस खेल्दै ...

सोलुखुम्बुको फेरिचेम ...

धरान/ सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फेरिचेमा ...

सुनसरीको लौकहीमा ब्र ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन् ...

लक तोडेर मोटरसाइकल ...

वीरगञ्ज/ पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved