देवानगञ्ज/ सुनसरीको देवानगञ्जमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।
बिहीबार राति करिब १२ः४५ बजे देवानगञ्ज गाउँपालिका–७ तिनमुहानस्थित क्षेत्रमा प्रहरीले भन्सार छलीका लत्ताकपडा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र त्यसमा लोड गरिएको लत्ताकपडा छाडेर फरार भएका थिए।
प्रहरीले मोटरसाइकलसहित अन्दाजी ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेको जनाएको छ।
फरार मोटरसाइकल चालकको पहिचान तथा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।