धरान/ सुनसरीको धरानस्थित तिनकुनेमा भन्सार छली गरेर ल्याइएका करिब १० लाख रुपैयाँ मूल्यका किराना तथा खाद्यान्न सामान बरामद गरिएको छ।
प्रहरीले सामान ओसारपसारमा प्रयोग भएको मिनी ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ कात्तिक १० गते साँझ ६:३० बजे धरान उपमहानगरपालिका–८ तिनकुनेमा इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तिनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरेर ल्याइएका किराना तथा खाद्यान्न सामान फेला पारेको हो।
बरामद सामानको अनुमानित मूल्य ९ लाख ८२ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मिनी ट्रकका चालक मोरङको विराटनगर महानगरपालिका–४ निवासी २५ वर्षीय प्रदीपकुमार शाह, सहचालक जहदा गाउँपालिका–१ निवासी ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशीलाई नियन्त्रणमा लिएको छ।
बरामद सामान र मिनी ट्रकसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।