सुनसरी/ इटहरीमा डेराकोठाभित्र लुकाएर राखिएको हजारौँ क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन्।
बुधबार राति करिब ९ बजे इटहरी उपमहानगरपालिका–८ गैसारस्थित अभिषेक चौधरीको डेराकोठामा लागूऔषध कारोबार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको ट्रामोल ५ हजार २ सय ७० क्याप्सुल र डाइसाइक्लोमिन ५ हजार ५ सय १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित प्रहरीले इटहरी–८ का १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।