इनरुवा/ सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी एक महिलालाई तीन घण्टासम्म अस्पतालको सिँढी तथा प्यासेजमा राखेर स्वास्थ्य परीक्षण एवम् बेड भर्नासमेत नगरी फिर्ता पठाइएको घटना सार्वजनिक भएको छ ।
सुनसरीको कोशी गाउँपालिका वडा नं.–३ जमुवा निवासी शर्मिला सदा मुसहरलाई सुत्केरी व्यथाले च्यापेपछि उहाँका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदाले सुत्केरी गराउन बुधबार राति जिल्ला अस्पताल इनरुवा ल्याउनुभएको थियो ।
श्रीमान देवकुमारका अनुसार शर्मिलालाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेको अवस्थामा अस्पतालको भुइँतलामा छाडेर उहाँहरू अस्पतालको माथिल्लो तलामा रहेको प्रसूति वार्डमा नर्सिङ स्टाफ र चिकित्सकलाई खबर गर्न पुग्नुभएको थियो ।
सदाले भन्नुभयो, “स्वास्थ्य परीक्षण र बेड भर्ना गराउनका लागि आग्रह गर्दा त्यहाँ रहनुभएका चिकित्सक तथा नर्सहरूले पुरानो ल्याब तथा भिडियो एक्स–रे रिपोर्ट हेरेर सुत्केरी महिलाको अवस्था उच्च जोखिमयुक्त भएको बताउनुभयो ।”
पछि एकजना स्टाफ नर्सले स्वास्थ्य परीक्षण नै नगरी पाठेघरको मुख खुलेको छैन, तत्काल बच्चाको जन्म हुँदैन भन्ने जवाफ दिँदै केही भइहाले अस्पतालले कुनै जिम्मेवारी नलिने र आफ्नै जोखिममा उपचार गराउनुपर्ने बताउनुभएको फगुनी सदाले गुनासो गर्नुभयो ।
अस्पतालको प्रसूति वार्डमा ड्युटीको जिम्मेवारीमा रहनुभएकी डाक्टर सुजाता चौधरीले बिरामी को चेकजाँच नै नगरी फोनबाटै धरान वा विराटनगर लैजानका लागि स्टाफ नर्सलाई आदेश दिनुभएको थियो ।
डा। चौधरीले फोनमार्फत आदेश दिएपछि प्रसूति वार्डमै उपस्थित रहनुभएका र पुरानो रिपोर्टसमेत हेर्नुभएका मेडिकल सुपरिटेन्डेन्ट डा। सन्तोष साह र डा। कृष्ण दासले बेवास्ता गर्नुभएपछि बिरामी शर्मिलाका श्रीमान् देवकुमार र जेठानीलाई विराटनगरस्थित कोशी अस्पतालमा राति १२ बजेपछि लगिएको थियो ।
फगुनी सदाका अनुसार विराटनगर लैजाने क्रममा शर्मिलालाई थप प्रसूति पीडाले च्यापेपछि शिशुको एम्बुलेन्सभित्रै जन्म भएको थियो । असहज रूपमा एम्बुलेन्समा बस्नुभएकी शर्मिलाको बच्चा कोशी अस्पतालको मूल गेटमा पुग्दा आमाकै शरीरमा टाउको अड्किएको अवस्थामा रहेकाले अस्पतालका स्वास्थ्यकर्मीले टाउको तानेर निकालेको सदाले बताउनुभयो ।
बच्चाको जन्म भएपछि कोशी अस्पताललेसमेत भर्ना नगरी तुरुन्तै आइसियुमा राखेर मात्रै बच्चाको उपचार गर्न भन्दै विराट नर्सिङ होम, नोबेल मेडिकल वा सुरक्षा अस्पताल लैजानुपर्ने बताएका थिए ।
देवकुमारले भन्नुभयो, “कोशीका डाक्टरको सुझावअनुसार बच्चालाई सुरक्षा अस्पताल लगिएको थियो ।” सुरक्षा अस्पतालले दिनको १७ हजार रुपियाँ अग्रीम जम्मा गरेपछि मात्रै बच्चालाई आइसियुमा राख्न सकिने बताएपछि आफूहरू गरिब तथा विपन्न परिवारको मानिस भएको जनाउँदै अस्पतालमा उपचार गराउन नसक्ने अवस्था देखेर बच्चालाई पुनः कोशी अस्पताल नै ल्याइएको उहाँले बताउनुभयो ।
कोशी अस्पतालले औषधी लेखिदिए तापनि पैसाको अभावमा हालसम्म औषधी किनेर खुवाउन नसकिएको देवकुमार बताउनुहुन्छ ।
सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहनुभएकी महिलालाई स्वास्थ्य परीक्षण तथा बेड भर्नासमेत नगरी अन्यत्रै लैजान लगाइएको घटनाका सम्बन्धमा जानकारी माग्दा जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेसु डा। सन्तोष साहले आफू तीन दिनदेखि अस्पतालमा नरहेको र सुत्केरी महिलाका बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।
डा। साहले भन्नुभयो, “म तालिममा भाग लिन इटहरी आएकाले घटनाका बारेमा अस्पताल प्रशासन प्रमुख उमेश गौतमसँग बुझेर जानकारी लिनुहोला ।”
शर्मिलालाई प्रसूति पीडाले च्यापेको अवस्थामा अस्पताल आउँदा मेडिकल सुपरिटेन्डेन्ट डा। सन्तोष साह स्वयं माथिल्लो तलामा रहेको, प्रसूति वार्डमा बिरामीका श्रीमान् र जेठानीसँग कुराकानी गर्नुभएको बताइएको छ ।
अस्पताल सुधार संघर्ष समितिका अभियन्ता दिलीपचन साहले पीडामा रहनुभएकी महिलाको सामान्य चेकजाँच र बेड भर्नासमेत नगरी जोखिमपूर्ण अवस्थामा अन्यत्र पठाउनु चरम लापरवाही र मानवीय संवेदनहीनता भएको बताउनुभयो ।
-गोरखापत्र अनलाइनबाट