धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरानबाट चार जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले १ किलो ९१० ग्राम थाई गाँजा बरामद गर्दै दुई महिला र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाउन लागिएको पार्सल शंकास्पद लागेपछि जाँच गरेको थियो।
जाँचका क्रममा पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पार्सल रिसिभ गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले नियन्त्रणमा राखेर पठाउने रणनीति अपनाएको थियो।
सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाने क्रममा धरान–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटा छथरजोरपाटी–२ की २५ वर्षीया तारा मगर पक्राउ परेका हुन्।
उनीहरू बसेको धरान–१५ मिलनपथस्थित डेरामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा र पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको थियो।
अनुसन्धानकै क्रममा उक्त गाँजा लिन आएका भारतीय नागरिकहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भदौ १९ गते धरान–८ बाट भारत केरलका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।
बरामद सामग्री :
थाई गाँजा — १ किलो ९१० ग्राम
मोबाइल फोन — ४ थान