धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको तेस्रो दिन आज चार खेल भए ।
उक्त खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले आप्mनो खेलमा जित निकालेका छन् । विजेता चार विद्यालय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले ११–२, १२–५, १०–४ र ८–४ अङ्कले दिल्ली पब्लिकलाई पराजित गरेको थियो ।
खेलमा हिमालयन मेघाका सङ्गम ठाकुर म्यान आफ द म्याच घोषित भएका थिए । प्रतियोगिताको दोस्रो खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले डिपो माध्यमिक विद्यालयलाई ३०–२९ अङ्कले पराजित गर्यो ।
खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुललले ८–५, ११–९, ७–८ र २–६ अङ्क गरी बराबर २८–२८ अङ्क प्राप्त गरेका थिए । बराबरपछि थपिएको अतिरिक्त समयमा हिमशिखरले २ र डिपोले १ अङ्क जोडेका थिए । यो खेलमा हिमशिखरका स्वयम माझी म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगिताको तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले सुनाखरी एकाडेमीलाई ३५–८ अङ्कले पराजित गर्यो । पाराडाइजले ४–६, १०–०, १३–० र ८–२ गरी ३५–९ अङ्कले सुनाखरीलाई पराजित गरेको थियो । खेलमा पाराडाइजका सक्षम तामाङ म्यान अफ द म्याच घोषित भएका थिए ।
यसैगरी प्रतियोगिताको अन्तिम खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलले चिल्ड्रेन्स एकाडेमीलाई २८–२४ अङ्कले पराजित गर्यो । प्रभातले ८–५, ८–८, १०–६ र २–५ गरी २८–२४ अङ्कले चिल्ड्रेन्स एकाडेमीलाई पराजित गरेको थियो । खेलमा प्रभातका शुसान्त उराव म्यान अफ द म्याच भएका थिए ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गरिएको हो ।