धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी हवल्दार घाइते भएका छन्।
बुधबार दिउँसो करिब २ः५० बजे धरान उपमहानगरपालिका–८ डम्पिङ साइटस्थित कोशी राजमार्गमा धरानबाट सेउतीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६०२ नम्बरको ईभी गाडीले सोही दिशातर्फ जाँदै गरेको स ६ प ४४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रबन्ध शाखामा दरबन्दी भई अस्थायी प्रहरी चौकी तिनकुनेमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार चन्द्रकुमार श्रेष्ठ घाइते भएका हुन्।
खोटाङको बराहपोखरी गाउँपालिका–४ घर भएका श्रेष्ठ ड्युटीमा खटिएका बेला दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि तत्काल इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तिनकुनेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घाइते श्रेष्ठलाई उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरान पठाइएको प्रहरीले जनाएको छ।
श्रेष्ठको दुवै खुट्टा र अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा उनले बोकेको प्रहरी सञ्चार सेटसमेत फुटेर क्षति भएको छ।
ईभी चालक धरान–१७ का ४३ वर्षीय मोहन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै सवारी साधनलाई अस्थायी प्रहरी चौकी तिनकुनेमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।