लमजुङ/ बेंसीसहर नगरपालिका–८ का ५७ वर्षीय बुद्धिबहादुर बोहोरा र दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछाने मिल्ने साथी हुनुहुन्थ्यो।
दुवैबिच घुमफिर गर्ने, तास खेल्ने, खानपिन गर्ने घनिष्ठ सम्बन्ध थियो। लामिछाने बोहोराको घरमा नियमित आउजाउ गर्नुहुन्थ्यो। बोहोराले पनि लामिछानेले भनेका कुरालाई सहजै स्वीकार गर्ने गरेको परिवारजन बताउँछन्।
यति घनिष्ठ सम्बन्ध भएका साथीबाट अप्रिय घटना होला भनेर दुवै परिवारले कल्पना गरेका थिएनन्। तर, एक साताअघि मृत फेला परेका बोहोराको हत्या आफ्नै साथी लामिछानेले सुन लुट्ने उद्देश्यले गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङले घटनामा संलग्न भएको अभियोगमा दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले बेंसीसहर नगरपालिका–२ बोहराबेंसी स्थायी घर भई हाल बेंसीसहर–८ तामाङ टोल बस्दै आएका बोहोराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बोहोराको शव असार २५ गते बिहान बेंसीसहर नगरपालिका–१ आकाशेडाँडास्थित भीरपानी सामुदायिक वनमा फेला परेको थियो। उहाँ असार २१ गते बिहानदेखि हराइरहनुभएको थियो।
लामिछानेले बोहोराको सुनको सिक्री र औँठी लुट्न हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। हत्यापछि लुटिएको करिब साढे दुई तोला सुनको सिक्री र औँठी चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ।
उक्त पसलका सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पार्वतीपुर घर भएका लामिछाने र विश्वकर्माबीच चिनजान रहेको खुलेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले लामिछाने र विश्वकर्मालाई मंगलबार पक्राउ गरिएको र जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो।
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यान र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रहरीका अनुसार लामिछानेलाई शव फेला परेको भोलिपल्टै नियन्त्रणमा लिइएको थियो। सुरुमा उनले घटना अस्वीकार गरे पनि पछिल्लो बयानमा स्वीकार गरेपछि पुनः पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा सुन पसल सञ्चालक विश्वकर्मालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
डीएसपी बस्नेतका अनुसार लामिछाने र बोहोरा निकै मिल्ने साथी थिए। “दुवैजना जहाँ पनि सँगै जाने, रातभर पनि सँगै बस्ने गरेका रहेछन्। घटनाको दिन पनि दुवैजना दिनभर भोटेओडारमा बसेर तास खेलेका र सँगै खानपिन गरेर फर्किएका रहेछन्,” उहाँले भन्नुभयो।
प्रहरीका अनुसार असार २१ गते बिहान बोहोरा स्कुटरमा आकाशेभीरसम्म पुगेका थिए। उहाँले स्कुटर बाटोमै छाडेर लामिछानेको मोटरसाइकलमा भोटेओडार पुग्नुभएको थियो। दिनभर तास खेलेर खानपिन गरेपछि लामिछानेले उहाँलाई पुनः स्कुटर भएको स्थानसम्म पुर्याएउनुभएको थियो।
डीएसपी बस्नेतका अनुसार त्यसपछि लामिछानेले बोहोरालाई आकाशेडाँडाको जंगलमा दृश्यावलोकन गर्न जाने प्रस्ताव गर्नुभभएको थियो। दुवैजना जंगल पुगेपछि आर्थिक समस्याका कारण सुनप्रति लोभ लागेको र बोहोरा ढुंगामाथि बसेर दृश्य हेरिरहेका बेला नजिकैको चिलाउनेको रुखको हाँगाले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार लामिछानेले करिब १५ मिनेटभित्र घटना गराएर सोही दिन चितवन पुग्नुभएको थियो। भोलिपल्ट सुन पसलमा उक्त सुन ६ लाख ४४ हजार रुपियाँमा बिक्री गर्ने सहमति भएको र ४४ हजार रुपियाँ नगद लिएको तथा बाँकी रकम केही दिनमा दिने सहमति भएको खुलेको छ।
प्रहरीका अनुसार बोहोराको साथमा सुनका गहना नभेटिनु, सिसिटिभी फुटेज र मोबाइल ट्रेसिङबाट दुवैजना सँगै हिँडेको देखिएपछि अनुसन्धान लामिछानेतर्फ केन्द्रित भएको थियो।