धरान/ आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले सोमबार विद्यालयको सभाहलमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै नेपाली भाषा, साहित्य र मौलिक सिर्जनाप्रतिको सम्मान व्यक्त गरेको छ।
विद्यार्थीमा नेपाली भाषा र साहित्यप्रति रुचि बढाउनुका साथै सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सिनियर र जुनियर गरी ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो।
प्रतियोगिताको सिनियरतर्फ समीक्षा राई प्रथम, युमिना राई द्वितीय तथा सेसेमा लिम्बू तृतीय भए। जुनियरतर्फ प्रनिता तामाङ प्रथम, सुमिना राई द्वितीय र निश्चल मगर तृतीय स्थान हासिल गर्न सफल भए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषी राई र विद्यालयकी शिक्षिका प्रज्वलिता श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
यस अवसरमा विद्यार्थी सिद्धार्थ श्रेष्ठ र युबिका राईले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यमा पुर्याएको अतुलनीय योगदानबारे प्रकाश पारेका थिए।
प्रमुख अतिथि जनकऋषी राईले विद्यार्थीले सानै उमेरदेखि आत्मविश्वासका साथ मञ्चमा उभिएर आफ्ना सिर्जना प्रस्तुत गरेको देख्दा खुसी लागेको बताए।
उनले कविता लेख्दा अभिभावक वा कृत्रिम बुद्धिमत्ता (एआई)को सहाराभन्दा आफ्नै मौलिक सिर्जनालाई प्राथमिकता दिन आग्रह गर्दै त्यसबाट नै वास्तविक प्रतिभा उजागर हुने उल्लेख गरे।
कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले विद्यालयले विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सिर्जनशीलता अभिवृद्धिका लागि नियमित रूपमा यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
आदिकवि भानुभक्त आचार्यको योगदानप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीमा नेपाली भाषा र साहित्यप्रतिको प्रेम बढाउने उद्देश्यले कविता वाचन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए। कार्यक्रमको सञ्चालन शिक्षक नयनराज राईले गरेका थिए।
