झापा/ बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउने क्रममा तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा सोमबार बिहान करिब ९ः४० बजे बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका थिए। सोही क्रममा सन्तुलन गुमाउँदा उनी तल खसेका थिए।
प्रहरीका अनुसार थापा सीधै भुइँमा खस्नुअघि भवनको बीच भागमा रहेको फलामे ग्रिलमा ठोक्किएका थिए। दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो। घटनालगत्तै सहकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले उपचारका क्रममा थापाको मृत्यु भएको पुष्टि गर्दै घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार दुर्घटनाका बेला आवश्यक सुरक्षा उपकरण प्रयोग गरिएको थियो वा थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा राखिएको छ।
पालिका कार्यालय भवनमा भइरहेको रंगरोगनको कामका क्रममा भएको यस दुर्घटनाले निर्माण तथा मर्मतसम्भारका कार्यमा श्रमिक सुरक्षाको अवस्थामाथि पुनः प्रश्न उठाएको छ। उचाइमा काम गर्दा सुरक्षा बेल्ट, हेल्मेट तथा सुरक्षित स्काफोल्डिङजस्ता आधारभूत सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता दुर्घटना दोहोरिने गरेका छन्।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।