चतरा कोशी प्रदेशकै बहुआयामिक पर्यटन केन्द्र बन्दै

  • असार १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।

वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो।

एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ।

‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। कोशी किनारका आश्रम तथा धार्मिक स्थलमा दर्शन र आध्यात्मिक शान्तिको खोजीमा नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि श्रद्धालु पुग्ने गरेका छन्।

धार्मिक पर्यटनसँगै किरात समुदायले पवित्र मान्ने मुन्धुमी सभ्यतासँग जोडिएको खुवालुङ शिलाले पनि पछिल्ला वर्षमा राष्ट्रिय चर्चा पाएको छ। यसले अनुसन्धानकर्ता र आन्तरिक पर्यटकको आकर्षणसमेत बढाएको छ।

उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र जोड्ने कोशी पुल आफैं पर्यटकको आकर्षण बनेको छ। पुलबाट देखिने सप्तकोशीको मनोरम दृश्य अवलोकन, तस्बिर खिच्न तथा वनभोजका लागि दैनिक आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीय रमेश तिम्सिनाले बताए।

चतरा क्षेत्रमा साहसिक पर्यटनसमेत विस्तार हुँदै गएको छ। हिउँदयाममा सञ्चालन हुने जेटबोट सेवा, सुनकोशी, अरुण र तमोर नदीमा हुने र्याफ्टिङ तथा बेलका–बोप्ताङ क्षेत्रमा सञ्चालन भइरहेको प्याराग्लाइडिङले पर्यटकको रोजाइ बढाएको छ।

प्याराग्लाइडिङ प्रशिक्षक सुरेन गुरुङका अनुसार प्रशिक्षण केन्द्रमा नेपालका साथै भारत, चीन, स्पेन, फ्रान्स र जर्मनीबाट समेत प्रशिक्षार्थी पाइलट आउने गरेका छन्। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ उदयपुरका अध्यक्ष इश्वर राईले चुरे पहाड र सप्तकोशीको मनोरम दृश्यसँगको उडान पूर्वी नेपालकै उत्कृष्ट अनुभवमध्ये एक भएको बताए।

चतराबाट नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष पनि यस क्षेत्रको अर्को प्रमुख आकर्षण हो। यहाँ अर्ना, डल्फिन तथा हिउँदयाममा साइबेरियाबाट आउने प्रवासी चराको अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।

पर्यटन गतिविधि बढेसँगै होटल, रिसोर्ट र होमस्टे व्यवसाय पनि विस्तार हुँदै गएको छ। बेलका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रमन भट्टराईका अनुसार पछिल्लो समय भारतको बिहारबाट आउने पर्यटक उल्लेख्य रूपमा बढेका छन्। उनका अनुसार बेलका बीच रिसोर्टमा मात्रै मासिक १ हजारदेखि २ हजार ५ सयसम्म भारतीय पर्यटक पुग्ने गरेका छन् भने समग्र चतरा क्षेत्रमा मासिक ७ देखि ८ हजार भारतीय पर्यटक आउने गरेका छन्।

यद्यपि पर्यटनको सम्भावना बढ्दै गए पनि खानेपानी, फोहोर व्यवस्थापन, पार्किङ, सार्वजनिक शौचालय तथा पर्यटन सूचना केन्द्रजस्ता आधारभूत पूर्वाधारमा अझै लगानी आवश्यक रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापाले चतरा पूर्वी नेपालको बहुआयामिक पर्यटन केन्द्रका रूपमा विकास भइरहेको उल्लेख गर्दै यस क्षेत्रलाई ‘मुन्दुम पदमार्ग’सँग जोड्न र आधुनिक पर्यटन सूचना केन्द्र स्थापना गर्न सके पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए।

_रासस

धरान हङकङ मञ्चको नेत ...

सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा ...

कोशीलाई फूलैफूलको ब ...

   - रणध्वज लाेहार धरान/ किमाथांका सडकम ...

कक्षा १२ को उत्कृष्ट ...

धरान/ सुनसरीको धरान–१६ स्थित कोशी प्रदेशकै अग्रणी ...

असार १५ धरान पानबारी ...

पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved