-फाइल तस्बिर
दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
स्कुटीमा पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका छन्।
दुर्घटनापछि टिपर चालक फरार भएका थिए। प्रहरीले टिपरको खोजतलास गर्ने क्रममा दिउँसो करिब १२ः३० बजे उक्त टिपर फेला पारी चालक गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।